२०८२ साल चैत्र २४
हाइस्पीड संवाददाता
राष्ट्रिय सभाबाट पारित भएको चलचित्र सम्बन्धी विधेयक प्रतिनिधिसभामा टेबुल गरिएको छ। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सचिव हर्कराज राईले उक्त विधेयक प्राप्त भएको सन्देश प्रस्तुत गरेका हुन्। अब विधेयक प्रतिनिधिसभामा आवश्यक छलफल र प्रक्रियामार्फत अगाडि बढाइनेछ।
उक्त विधेयक तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले २०८२ साल वैशाख १४ गते राष्ट्रिय सभामा दर्ता गरेका थिए। राष्ट्रिय सभाले दफावार छलफलपछि संशोधनसहित माघ २८ गते विधेयक पारित गरेको थियो।
सरकारले विक्रम संवत् २०२६ सालको पुरानो चलचित्र ऐनलाई समयसापेक्ष बनाउने उद्देश्यसहित नयाँ विधेयक ल्याएको हो। यसले चलचित्र क्षेत्रलाई सामाजिक, सांस्कृतिक तथा मनोरञ्जनात्मक उद्योगको रूपमा विकास गर्दै देशलाई पर्यटन गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ। साथै, स्वदेशी तथा विदेशी चलचित्र प्रदर्शनअघि अनिवार्य जाँचको व्यवस्था गर्दै चलचित्र क्षेत्रको विकास, विस्तार र नियमनलाई सुदृढ बनाउने प्रावधान समेत समेटिएको छ।
श्रोत: अनलाईन खबर
तपाईको प्रतिक्रिया