२०८२ साल चैत्र २४
हाइस्पीड संवाददाता
प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार नियन्त्रणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खेलेको भूमिकाको प्रशंसा गर्दै पनि मुलुकमा भ्रष्टाचार न्यूनीकरण हुन नसकेकोप्रति चिन्ता व्यक्त गरेकी छन्। आयोगको ३५ औँ वार्षिकोत्सव समारोहमा बुधबार सम्बोधन गर्दै उनले सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणका लागि आयोगको योगदान महत्वपूर्ण रहेको बताइन्।
प्रधानमन्त्री कार्कीले पछिल्लो समय अख्तियार अझै सक्रिय, निर्भिक र सशक्त रूपमा काम गरिरहेको उल्लेख गर्दै भ्रष्टाचार नियन्त्रणलाई विकास र समृद्धिको आधारभूत सर्तका रूपमा व्याख्या गरिन्। समाजमा न्याय र सुरक्षाको प्रत्याभूति पनि भ्रष्टाचारविहीन अवस्थामै सम्भव हुने उनले जोड दिइन्।
उनले प्रत्येक राष्ट्रले भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अपनाउनुपर्ने बताउँदै नेपालमा पनि संवैधानिक रूपमा अख्तियारजस्तो शक्तिशाली निकायको व्यवस्था गरिएको स्मरण गराइन्। अख्तियारका कारबाहीले कर्मचारी र राष्ट्रसेवकमा उत्तरदायित्वको भावना तथा डर सिर्जना भएको उनले उल्लेख गरिन्।
यसैबीच, नेपालले अन्तर्राष्ट्रिय प्रतिबद्धताअनुसार भ्रष्टाचारविरुद्ध दोस्रो रणनीतिक योजना निर्माणको अन्तिम चरणमा पुगेको जानकारी दिँदै विशेष अदालतलगायत आवश्यक कानुनी र संस्थागत संरचना उपलब्ध भए पनि भ्रष्टाचार घट्न नसक्नु चिन्ताको विषय भएको बताइन्। साथै, भ्रष्टाचार नियन्त्रणको मुख्य जिम्मेवारी सरकार र कार्यकारी अंगकै हुने उनले स्पष्ट पारिन्।
श्रोत: अनलाईन खबर
तपाईको प्रतिक्रिया