सफलता बोगटी ब्रह्माण्डको उत्पत्तिको कथा आजभन्दा करिब १४ अर्ब वर्षअघिको त्यो निमेषभरको महाविस्फोट अर्थात् ‘बिग ब्याङ’ बाट सुरु हुन्छ, जहाँ शून्यताको गर्भबाट अस्तित्वको उदय भएको थियो। स्टेफन हकिङको सिद्धान्तलाई आधार मान्ने हो भने, यो महाविस्फोटको प्रक्रिया आजको हाम्रो समयको एक सेकेन्डलाई २० खर्ब भाग लगाउँदा आउने अति सूक्ष्म पलमा सम्पन्न भएको थियो। वर्तमानको शक्तिशाली सुपर कम्प्युटरले समेत जुन गतिमा गणना गर्न सक्छ, त्योभन्दा कयौँ गुणा तीव्र वेगमा यो सृष्टिको बीज अंकुरित भएको थियो। यस महाविस्फोटले केवल हाम्रो दृश्य ब्रह्माण्ड मात्र होइन, बरु हकिङका अनुसार अन्य १७ अर्ब ‘मल्टिभर्स’ वा बहु-ब्रह्माण्डहरूको समेत ढोका खोलिदिएको थियो, जहाँ हाम्रै सौर्यमण्डल जस्ता अनगिन्ती समानान्तर संसारहरू विद्यमान छन्।
अनन्त आकाशगङ्गाहरूको यो विशालतामा पृथ्वी एउटा यस्तो दुर्लभ ग्रह सावित भयो, जहाँ अनुकूल वातावरणले गर्दा जैविक चेतनाको प्रस्फुटन सम्भव भयो। करिब ३ अर्ब वर्ष पहिले नै अमिवा जस्ता एककोषीय जीवबाट सुरु भएको यो जीवनको यात्रा आज १५० वर्षसम्म बाँच्ने कछुवादेखि केही सेकेन्डमै समाप्त हुने सूक्ष्म भाइरससम्म विस्तारित छ। प्रकृतिको यो शाश्वत नियममा सृष्टि, पालन र विनाशको एउटा निरन्तर चक्र चलिरहेको छ। परिवर्तन नै संसारको एकमात्र स्थिर सत्य हो, जहाँ केही पनि अपरिवर्तनीय छैन। जीवन र मृत्युको यो सन्तुलनलाई आध्यात्मिक र वैज्ञानिक दुवै दृष्टिले हेर्न सकिन्छ। जन्मनु यदि सृष्टिको ‘बिग ब्याङ’ हो भने, मृत्यु अस्तित्वको ‘ब्ल्याक होल’ वा कृष्ण विवर हो, जहाँ सबै कुरा अन्ततः विलीन हुन्छ।
हाम्रो व्यवहारिक जीवनमा पनि यी ब्रह्माण्डीय घटनाहरू प्रतिविम्बित भइरहेका हुन्छन्। सलाईको एउटा सानो झिल्कोबाट दन्किने विशाल डढेलो वा सामाजिक सञ्जालको डिजिटल दुनियाँमा एकै क्षणमा प्राप्त हुने ‘भाइरल’ चर्चालाई ‘बिग ब्याङ’ को संज्ञा दिन सकिन्छ भने, डढेलोले खरानी बनाउनु वा एकाउन्ट ह्याक भएर पहिचान मेटिनु ‘ब्ल्याक होल’ को प्रतीक हुन्। वेदव्यास, वाल्मीकि, सुकरात, प्लेटो र बुद्ध जस्ता दार्शनिकहरूले आफ्ना अनुभव र चिन्तनमार्फत मानव मस्तिष्कको यही असीमित क्षमतालाई उजागर गरेका थिए। आजको विज्ञान र प्रविधिले गरेको चामत्कारिक प्रगति वास्तवमा विकसित मानव मस्तिष्ककै उपज हो, जसले जति प्रयोग गर्यो उति नै नयाँ क्षितिजहरू पहिल्याउन सक्छ।
मानव जाति अब केवल बाँच्नका लागि मात्र होइन, बरु नयाँ स्वाद, अनुभव र सुविधाका लागि लालायित छ। मंगल ग्रहको यात्रादेखि विलासी जीवनका अत्याधुनिक साधनहरू मानिसका अनिवार्य आवश्यकता बन्दै गएका छन्। अन्वेषण, नवप्रवर्तन र आधुनिकीकरण जस्ता शब्दहरूले नै मानव सभ्यतालाई जीवन्त राखेका छन्। इन्टरनेट, गुगल र च्याट-जीपीटी जस्ता कृत्रिम बुद्धिमत्ताका आविष्कारहरूले हिजोको कल्पनालाई आजको यथार्थ बनाइदिएका छन्। जैविक विकासको तुलनामा मानवीय बौद्धिक विकास कति तीव्र छ भन्ने कुरा यसबाटै प्रष्ट हुन्छ कि, आगामी एक लाख वर्षसम्म पनि मृगले बाघबाट बच्ने नयाँ बौद्धिक उपाय आफैँ विकास गर्न सक्दैन, तर मानिसले भने केही शताब्दीमै संसारको स्वरूप पूरै बदल्न सक्छ।
सन् २२२२ सम्म पुग्दा यो पृथ्वी र यहाँको जीवनशैली आजको सोचभन्दा विल्कुलै भिन्न र रोचक भइसकेको हुनेछ। ब्रह्माण्डको उत्पत्तिदेखि अहिलेसम्म जति प्रगति भयो, त्योभन्दा कयौँ गुणा बढी छलाङ अबको छोटो समयमा सम्भव छ। तर, वास्तविक प्रगति केवल भौतिक विकासमा मात्र सीमित हुनु हुँदैन। हामीले व्यक्ति, समाज र जगतलाई हेर्ने हाम्रो संकुचित दृष्टिकोणमा आमूल परिवर्तन ल्याउनु अनिवार्य छ। हामीले अहिलेसम्म आफ्नो चेतनाको स्तरमा न्यून परिवर्तन मात्र ल्याउन सकेका छौँ। अबको लक्ष्य भनेको मानव जातिलाई सबै प्रकारका अभाव, दबाब र प्रभावबाट मुक्त गरी एक स्वतन्त्र र स्वाभिमानी जीवनयापनको ठोस आधार निर्माण गर्नु नै हो। ( राजनीति शास्त्रमा स्नातकोत्तर सफलता बोगटी नेपाली बौद्धिक जगत्की एक यस्ती लेखिका हुन्, जो आफ्ना सिर्जना र लेखहरू मार्फत परराष्ट्र नीति, युवा नेतृत्व र महिला अधिकारको क्षेत्रमा सकारात्मक हस्तक्षेप गरिरहेकी छिन्। उनी नयाँ पुस्ताका लेखकहरूका लागि एउटा वैचारिक मार्गदर्शकको रूपमा उदाउँदै छिन्)
तपाईको प्रतिक्रिया