२०८२ साल वैशाख २८
हाइस्पीड सम्वाददाता
“न्यायको भेषमा लाज”
देश चल्दैछ, तर कसले चलायो थाहा छैन,
मन्त्रीहरू माइकमा चिच्याउँछन्— “हामी त देशकै सेवक!”
तर छोरी बलात्कृत हुँदा, अदालतमा किनार लाग्छ,
दोषी नेताको भाइ परेछ— फाइल हराउँछ।
कानून लेखिन्छ, सुनिन्छ, तर लागू हुँदैन,
थुन्ने ठेगाना चोरका लागि हो— मंत्रीका लागि त संसद्!
जनताले चिच्याएर न्याय माग्दा,
कानून सुतेको अभिनय गर्छ— कानमा इयरफोन ठोक्छ।
हिजोको बलात्कार आजको समाचार,
भोलिसम्म “सम्झनलायक क्षण” बन्छ,
र, त्यो पीडितको आँसु
“ब्रेकिङ न्युज” मा डुबेर हराउँछ।
अदालतमा न्याय बिक्रि हुन्छ— दररेट कति हो त?
हत्या? बलात्कार? अपहरण?
सबैको त मूल्य तय छ—
तर गरीबको रित्तो खल्ती हेरेपछि न्याय रिसाउँछ।
सञ्चारमाध्यमले पनि कसम खाएका छन्—
सत्य मात्र एक दिन बाँच्न पाउँछ।
भोलिपल्ट कुनै नायिकाको पहिरनले
राष्ट्रको आक्रोशलाई पन्छाइदिन्छ।
विदेश जान चाहनेहरूको ताँती,
नारा: “देश बनाउनु छ!”
तर भिसा लागेपछि— “देशले केही दिएन!”
देश बन्छ कसरी? सबै त भागिरहेका छन्!
नातावादको देश हो यो—
योग्यता सी.भी मा मात्र देखाइन्छ।
काम पाउनलाई दरबारी दरबार जानु पर्छ,
र फाइल सिफारिसको टोपी लगाएर नाचिन्छ।
नेता भन्छन्: “हामी शहीदका सन्तान!”
तर देशको अस्थिपञ्जर बेचेर,
विदेशी बैंकमा खाता खोल्न लाज नमान्ने,
त्यो शहीदको सपनामा लात हान्दैन त?
तर, प्रश्न उठ्छ — यो देश कसले बनाउने?
जसले सक्दैन, उड्न खोज्छ;
जसले सक्छ, घूस खाँदै बस्छ;
र, जसले केही बोलेन— त्यो नै साँचो देशप्रेमी हो भनेर प्रमाणपत्र दिन्छ सरकार
तपाईको प्रतिक्रिया