२०८२ साल माघ १७
हाइस्पीड सम्वाददाता
सिरहा ४ मा चुनावी नाराभन्दा भारी खानेपानी संकट
आउँदो २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा सिरहा निर्वाचन क्षेत्र नम्बर ४ मा उम्मेदवारहरू घरदैलो, सामूहिक छलफल र भेटघाटमार्फत मतदाताको विश्वास जित्ने प्रयासमा छन् । तर, चुनावी नारा र आश्वासनभन्दा स्थानीय मतदाताका लागि सबैभन्दा ठूलो र तत्कालीन मुद्दा बनेको छ खानेपानीको चर्को समस्या ।
पूर्व–पश्चिम राजमार्ग आसपासदेखि भित्री गाउँसम्म पुग्दा स्थानीयको प्राथमिकता स्पष्ट देखिन्छ । धारामा पानी नआउने, कुवा–खोल्सा सुक्दै जाने र ट्युबेलसमेत काम नलाग्ने अवस्थामा पुगेपछि दैनिक जीवन नै कष्टकर बनेको छ । यस्तो अवस्थामा उम्मेदवारका अन्य विकासका नाराले स्थानीयलाई आकर्षित गर्न सकेका छैनन् ।
स्थानीयवासीका अनुसार विगतमा धेरै चुनाव आए, धेरै नेताले आश्वासन दिए, तर खानेपानीको समस्या समाधान भएन । पानीको अभावले किसानको खेती प्रभावित भएको छ भने पशुपालन र घरधन्दा झनै कठिन बनेको छ । विशेषगरी गृहिणीहरू पानीकै लागि दिनहुँ संघर्ष गर्न बाध्य छन् ।
जनप्रतिनिधिहरू समस्याबारे जानकार भए पनि व्यवहारमा समाधानतर्फ नलागेको स्थानीयको गुनासो छ । पटक पटक निर्वाचित भएकाहरूले काम नगरेको अनुभवका कारण पुरानाप्रति विश्वास कमजोर बनेको छ भने नयाँ उम्मेदवारप्रति पनि केवल आश्वासनमै सीमित हुने हुन् कि भन्ने शंका उस्तै छ ।
सिरहा–४ मा पाँच पूर्वमन्त्रीसहित दल र स्वतन्त्र गरी ३६ जना उम्मेदवार चुनावी मैदानमा छन् । पुराना उम्मेदवारहरू कमजोरी सच्याएर आउने प्रतिबद्धता जनाइरहेका छन् भने नयाँ उम्मेदवारहरू पुरानाले नगरेको काम आफूले गर्ने दाबी गरिरहेका छन् ।
तर, मतदाता भने अझै निर्णयमा पुगेका छैनन् । उनीहरू उम्मेदवारको भनाइभन्दा काम हेर्न चाहिरहेका छन् । चुनाव अझै केही समय टाढा भए पनि पानीको अभावले सिर्जना गरेको काकाकुल अवस्था भने अहिले नै समाधान खोजिरहेको छ । त्यसैले यसपटक सिरहा–४ का मतदाताले खानेपानीको दीर्घकालीन समाधान गर्न सक्ने उम्मेदवारलाई प्राथमिकतामा राखेर निर्णय गर्ने संकेत देखिएको छ ।
श्रोत: कान्तिपुर
तपाईको प्रतिक्रिया