२०८२ साल माघ २१
हाइस्पीड सम्वाददाता
आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै काठमाडौँ क्षेत्र नम्बर ६ बाट आम जनता पार्टी की उम्मेदवार सफलता बोगटी ले भ्रष्टाचारविरुद्ध कठोर अडान, निःशुल्क शिक्षा–स्वास्थ्य, किसानमैत्री नीति र जनताको प्रत्यक्ष सहभागितामूलक शासन प्रणाली आफ्नो प्रमुख एजेन्डा भएको बताएकी छन्।
टेलिभिजन अन्तर्वार्ताका क्रममा बोगटीले आफू कुनै पद, शक्ति वा व्यक्तिगत लाभका लागि नभई नागरिकको आवाज संसदसम्म पुर्याउन राजनीतिमा आएको स्पष्ट पारिन्। “म जनताको सेवाका लागि उठेकी हुँ, यदि मैले इमान्दारी गर्न सकिन भने जनताले मलाई संसद भवनबाट घोक्रेठ्याक गरेर निकालिदिए हुन्छ,” भन्दै उनले आफ्नो प्रतिबद्धता व्यक्त गरिन्।
‘पार्टी भूगोलको हुँदैन’
आम जनता पार्टीलाई ‘मधेश केन्द्रित पार्टी’ भन्ने धारणा गलत भएको उनको भनाइ छ। “पार्टी कुनै ठाउँको हुँदैन, पार्टी विचारको हुन्छ,” भन्दै उनले काठमाडौँ महानगरका मेयर स्वयं तराई मूलका भए पनि उनलाई मधेसी भनेर नहेरिएको उदाहरण प्रस्तुत गरिन्। पार्टीले देशभर उम्मेदवार उठाएको र हिमाल, पहाड, तराई सबै क्षेत्रमा संगठन विस्तार भइरहेको उनको दाबी छ।
काठमाडौँ–६ का समस्या र समाधानको दृष्टिकोण
काठमाडौँ–६ का मतदातालाई आफूले नजिकबाट बुझेको दाबी गर्दै बोगटीले क्षेत्रका प्रमुख समस्या शिक्षा, स्वास्थ्य, यातायात, सडक, बेरोजगारी र भ्रष्टाचार रहेको बताइन्। उनले जितेपछि महिनामा कम्तीमा दुई पटक नागरिकसँग प्रत्यक्ष संवाद गर्ने र उनीहरूको समस्या संसदमा आवाजका रूपमा उठाउने प्रतिबद्धता जनाइन्।
“म एजेन्डा माथिबाट बनाउँदिनँ, नागरिकसँग सोधेर बनाउँछु,” भन्दै उनले जनताको सहभागितामूलक नीति निर्माणमा विश्वास व्यक्त गरिन्।
शिक्षा र स्वास्थ्य निःशुल्क हुनुपर्छ
शिक्षा र स्वास्थ्य राज्यको दायित्व भएको उल्लेख गर्दै बोगटीले सरकारी विद्यालयको गुणस्तर सुधार, निजी विद्यालयको मनपरी शुल्क नियन्त्रण र शिक्षण संस्थालाई राजनीति मुक्त बनाइनुपर्नेमा जोड दिइन्। विद्यालय व्यवस्थापन समितिमा राजनीतिक हस्तक्षेप अन्त्य गर्नुपर्ने उनको धारणा छ।
स्वास्थ्य क्षेत्रतर्फ उनले गम्भीर रोग लाग्दा नागरिकले घरबार बेच्नुपर्ने अवस्था अन्त्य गर्न निःशुल्क उपचार वा प्रभावकारी स्वास्थ्य बीमा प्रणाली लागू गर्नुपर्ने बताइन्। “बजेट छैन भन्ने होइन, बजेटको दुरुपयोग रोक्न सके समस्या समाधान हुन्छ,” उनको भनाइ छ।
किसान र बजार व्यवस्थापन
किसानको उत्पादन बारीमै कुहिने र उचित मूल्य नपाउने समस्याको जड बिचौलिया र कमिसन प्रणाली भएको भन्दै बोगटीले सरकार स्वयं बजार व्यवस्थापनमा सक्रिय हुनुपर्ने बताइन्। “किसानले उत्पादन गरेको लागतभन्दा कम मूल्य पाउनु अन्याय हो,” भन्दै उनले किसानमैत्री नीति निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
‘एक रुपैयाँ पनि खर्च नगरी चुनाव’
चुनावमा करोडौँ खर्च गर्नुपर्छ भन्ने भाष्यलाई अस्वीकार गर्दै बोगटीले आफूले उम्मेदवारी दर्ताबाहेक कुनै खर्च नगरेको दाबी गरिन्। “जनतासँग मत माग्न पैसा होइन, इमान्दारी चाहिन्छ,” भन्दै उनले पैसाविहीन चुनाव सम्भव रहेको उदाहरण प्रस्तुत गरिन्।
भ्रष्टाचारविरुद्ध कठोर चेतावनी
भ्रष्टाचार नेपालको सबैभन्दा ठूलो समस्या भएको उल्लेख गर्दै उनले यसको सुरुवात नेतृत्वबाटै हुनुपर्ने बताइन्। “म आफैँ भ्रष्टाचार गर्दिनँ र अरूलाई पनि गर्न दिन्नँ,” भन्दै उनले संसदभित्र कुनै पनि नेता भ्रष्टाचारमा संलग्न भए जनताकै साथमा कारबाही गराउने चेतावनी दिइन्।
प्रतिस्पर्धी उम्मेदवारभन्दा फरक के?
काठमाडौँ–६ मा विभिन्न दलका प्रभावशाली उम्मेदवारबीच कडा प्रतिस्पर्धा रहे पनि बोगटीले आफूलाई इमान्दारी, खर्चरहित चुनाव र जनतासँग निरन्तर सम्पर्क गर्ने उम्मेदवारका रूपमा प्रस्तुत गरिन्। “म संगठन, नातावाद वा कार्यकर्ता पाल्न संसद जाँदिनँ,” उनको भनाइ छ।
पर्यटन र यातायात सुधार
टोखा, झोर, मङ्गलजस्ता क्षेत्रलाई पर्यटनसँग जोडेर स्थानीय रोजगारी सिर्जना गर्न सकिने उनको धारणा छ। यातायात समस्याका लागि निजी सवारी घटाई गुणस्तरीय सार्वजनिक यातायात, विशेषतः विद्युतीय सवारीलाई प्राथमिकता दिनुपर्ने उनले बताइन्
तपाईको प्रतिक्रिया