२०८२ साल माघ २२
हाइस्पीड सम्वाददाता
“४८ घण्टामा तीन विभत्स घटना : मधेशमा बढ्दो हत्याले त्रास”
मधेश प्रदेशमा ४८ घण्टाभित्र भएका तीन गम्भीर आपराधिक घटनाले स्थानीयमा भय–त्रासको वातावरण सिर्जना गरेको छ। सिरहा, महोत्तरी र बारामा भएका हत्या तथा आक्रमणका घटनाले सुरक्षा अवस्थामाथि प्रश्न उठाएको छ।
माघ १६ गते सिरहा नगरपालिका–१ का ४५ वर्षीय प्रेमनाथ यादवमाथि आफ्नै खेतमा काम गरिरहेका बेला गोली प्रहार हुँदा घटनास्थलमै मृत्यु भयो। प्रहरीले छाती र पिठ्युँमा दुई राउन्ड गोली लागेको जनाएको छ। घटनामा संलग्न व्यक्तिको पहिचान खुल्न नसकेको र कसैलाई पक्राउ गर्न नसकिएको प्रहरीको भनाइ छ। स्थानीय डराएका कारण अनुसन्धानमा कठिनाइ भइरहेको बताइएको छ।
यसअघि महोत्तरीको गौशाला नगरपालिका–१ रामनगरकी ७३ वर्षीया रासोदेवी यादव मृत अवस्थामा उखुबारीमा फेला परेकी थिइन्। घरमै सुतिरहेको बेला बेपत्ता भएकी उनी निर्वस्त्र अवस्थामा भेटिएकाले घटना शंकास्पद देखिएको प्रहरीले जनाएको छ। पोस्टमार्टम रिपोर्टपछि मात्र वास्तविक कारण खुल्ने बताइएको छ।
यस्तै, बारा जिल्लाको परवानीपुर गाउँपालिका–१ मा मध्यराति भएको आक्रमणमा ४६ वर्षीया सुमित्रा देवी र उनका ३१ वर्षीय छोरा रामईश्वर मण्डलको हत्या भयो भने परिवारका अन्य तीन सदस्य घाइते भए। घटनामा संलग्न आरोपमा रामईश्वरकी श्रीमती मनिता र उनका कथित प्रेमी धर्मेन्द्र महतो धानुक पक्राउ परेका छन्। प्रारम्भिक अनुसन्धानले विवाहेत्तर सम्बन्ध र पारिवारिक विवादका कारण घटना भएको देखाएको प्रहरीले जनाएको छ।
चुनाव नजिकिँदै गर्दा भएका यी घटनाले राजनीतिक प्रभाव पार्ने आशंका उठे पनि प्रहरीका अनुसार घटनाहरू व्यक्तिगत र पारिवारिक कारणसँग सम्बन्धित छन्, राजनीतिक होइनन्।
प्रदेश प्रहरीको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ६ महिनामा मधेशमा ५६ जनाको हत्या भइसकेको छ। सबैभन्दा बढी सप्तरीमा १३ जना मारिएका छन् भने धनुषा र सिरहामा ९–९ जनाको हत्या भएको छ। पारिवारिक विवाद, आपसी रिसइबी, सामाजिक सञ्जाल र लागुऔषध प्रयोगलाई प्रमुख कारणका रूपमा औंल्याइएको छ।
पछिल्ला वर्षहरूमा पनि हत्या दर उच्च देखिएको छ—गत आर्थिक वर्ष ९९ जना र त्यसअघिको वर्ष १२७ जनाको हत्या भएको थियो। लगातार बढ्दो अपराधका घटनाले मधेशको सुरक्षा अवस्थाबारे गम्भीर चिन्ता थपिएको छ।
श्रोत: अनलाईन खबर
तपाईको प्रतिक्रिया