२०८२ साल माघ २२
हाइस्पीड सम्वाददाता
“प्रेम दिवस सप्ताहमा नेपालमा ४.५ लाख स्टिम गुलाफको माग, आयातको भर पर्ने स्थिति”
प्रेम र माया मनाउने अवसर ‘प्रणय दिवस’ (भ्यालेन्टाइन्स डे) सप्ताहका लागि नेपालमा करिब ४ लाख ५० हजार स्टिम गुलाफ (डच रोज)को माग हुने अनुमान गरिएको छ। फेब्रुअरी ७ देखि १४ सम्म चल्ने यो प्रेम सप्ताहमा बजारमा गुलाफको बिक्री करिब ५ करोड ६२ लाख रुपैयाँ बराबरको हुने प्रक्षेपण गरिएको छ।
फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अनुसार, मौसम प्रतिकूल हुँदा आन्तरिक उत्पादनले केवल करिब ३० प्रतिशत माग धान्न सक्ने भएकाले बाँकी ७० प्रतिशत गुलाफ भारत लगायत देशबाट आयात गर्नुपर्ने अवस्था छ। महासचिव हिरामणि शर्माका अनुसार, नेपाल सामान्य अवस्थामा गुलाफमा आत्मनिर्भर भए पनि फेब्रुअरीको जाडो महिनामा माग पूरा गर्न आयात अनिवार्य छ।
यस वर्ष गुलाफको मूल्य केही बढेर प्रतिस्टिम १००–१५० रुपैयाँसम्म पुगेको छ। मूल्य वृद्धिको मुख्य कारण भारतमा बढेको मूल्य र सजावट तथा प्याकेजिङमा हुने खर्च रहेको फ्यानले जनाएको छ।
कुल मागको ६० प्रतिशत गुलाफ काठमाडौं उपत्यकामा खपत हुनेछ भने बाँकी ४० प्रतिशत पोखरा, धरान, चितवन, विराटनगर लगायतका शहरमा बिक्रि हुने अनुमान छ। हाल काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, काभ्रेपलाञ्चोक र रुपन्देहीमा व्यावसायिक गुलाफ खेती भइरहेको छ भने अन्य जिल्लामा विस्तार हुने क्रम जारी छ।
फ्यानका अनुसार, प्रणय दिवस सप्ताह अवधिभरि गुलाफको कारोबार करिब ५ करोड ६२ लाख रुपैयाँ पुग्ने प्रक्षेपण छ, जसमा करिब ३ करोड ९३ लाख रुपैयाँ भारतबाट आयातित गुलाफमा खर्च हुनेछ। यस्तो अवस्थामा उपभोक्ताले गुलाफका लागि केही महँगो मूल्य तिर्नुपर्ने छ।
यो वर्ष पनि आन्तरिक उत्पादनले पर्याप्त नभएको र उच्च प्रविधियुक्त ‘हाइटेक ग्रिनहाउस’ प्रणाली पर्याप्त नभएकोले नेपाल गुलाफमा पूर्ण आत्मनिर्भर हुन नसक्ने स्थिति रहेको फ्यानले जनाएको छ
श्रोत: अनलाईन खबर
तपाईको प्रतिक्रिया