२०८२ साल माघ २७
हाइस्पीड सम्वाददाता
तातो दूधले नुहाएर मुसहर समुदायले मनाए भुइँया पूजा
महोत्तरीको बर्दिवासस्थित नमुना मुसहर बस्तीमा मुसहर समुदायले उम्लिरहेको तातो दूधले नुहाएर परम्परागत भुइँया पूजा मनाएका छन्। समुदायले आफ्ना कुल देवता दीना भद्रीलाई स्मरण गर्दै तीन बालकलाई भुइँया बाबाको प्रतीकका रूपमा तातो दूधले नुहाएर पूजा सम्पन्न गरेका हुन्।
समुदायका युवा अगुवा मञ्जय सदाका अनुसार दीना भद्रीलाई भुइँया महाराजका रूपमा पनि मानिन्छ र यो पूजा विशेषगरी माघ महिनामा मनाइने चलन छ। भाकल पूरा भएपछि पान, मखान, लड्डु, खीर, रोटी र सुपारी चढाउने तथा बाँसको धाजामा तीर धनुष बनाएर धुमधामका साथ पूजाआजा गर्ने परम्परा रहेको उनले बताए। कुल देवताको स्मरण गर्दै तातो दूधले नुहाउँदा शरीर नपोल्ने अद्भुत शक्ति हुने विश्वास समुदायमा रहेको छ।
भुइँया शब्दले धर्ती वा पृथ्वीलाई जनाउने भएकाले यसलाई प्रकृतिको पूजाका रूपमा पनि लिइन्छ। भाषा तथा संस्कृति अभियन्ता फुलगेन मगहीका अनुसार सप्तरीमा जन्मिएका दीना–भद्री दाजुभाइ मुसहर समुदायका कुल देवता तथा अन्याय र शोषणविरुद्ध लड्ने वीर योद्धाका रूपमा परिचित छन्। उनीहरूले सम्पूर्ण समाजको हितका लागि काम गरेको इतिहास रहेको बताइन्छ।
श्रोत: अनलाईन खबर
तपाईको प्रतिक्रिया