२०८२ साल फाल्गुन ४
हाइस्पीड सम्वाददाता
राउटे बस्तीमा सामाजिक सुरक्षा भत्ता र राहत वितरणको दुरुपयोगबारे चिन्ता
राउटे समुदायमा वितरण गरिने सामाजिक सुरक्षा भत्ता र विभिन्न संघसंस्थाबाट आउने राहत सामग्रीको प्रयोगबारे गम्भीर चिन्ता व्यक्त गरिएको छ। राउटे समुदायको अध्ययन गर्दै आएका पर्यावरणविज्ञ अमिर पौडेलका अनुसार नगद भत्ताको ठूलो हिस्सा मदिरा सेवनमा खर्च हुने गरेको र त्यसका कारण पछिल्ला वर्षहरूमा मृत्यु दर समेत बढेको देखिएको छ।
त्रैमासिक रूपमा वितरण हुने सामाजिक सुरक्षा भत्ताबाट एकैपटक ठूलो रकम बस्तीमा पुग्ने गर्दछ। भत्ता पाएपछि केही दिनमै ठूलो मात्रामा सस्तो मदिरा बस्तीमा भित्रिने र बालबालिका, महिला तथा वृद्धसम्मले सेवन गर्ने अवस्था रहेको उल्लेख गरिएको छ। अध्ययनका अनुसार पछिल्ला डेढ–दुई वर्षमा भत्ता वितरण भएको केही साताभित्रै दुई–तीन जनासम्मको ज्यान जाने घटनाहरू दोहोरिएको दाबी गरिएको छ।
विशेषज्ञहरूका अनुसार राहत सामग्री र खाद्यान्न विभिन्न निकायबाट आउने भएकाले भत्ताको पैसा आवश्यक वस्तुमा कम खर्च भई मदिरामा बढी खर्च हुने गरेको छ। अव्यवस्थित राहत वितरणका कारण कतिपय बेला आवश्यकताभन्दा बढी खाद्यान्न पुग्ने र त्यसलाई बेचेर पुनः मदिरा खरिद गर्ने प्रवृत्ति देखिएको बताइएको छ।
राउटे बस्तीमा सरकारी तथा गैरसरकारी निकाय, कन्टेन्ट क्रियटर र विभिन्न समूहहरूको अनियन्त्रित प्रवेशले समुदायको जीवनशैली र संवेदनशीलतामा असर परेको टिप्पणी गरिएको छ। सामाजिक सञ्जालका लागि सामग्री बनाउने उद्देश्यले बस्तीमा भीड लाग्ने, बालबालिकालाई चकलेट बाँड्ने तथा अनावश्यक गतिविधि गर्ने प्रवृत्ति बढेको बताइएको छ।
अध्ययनकर्ताले राउटे समुदायको सांस्कृतिक पहिचान जोगाउन राज्यले नगद भत्ता व्यवस्थापन गर्ने, आवश्यक सामग्री प्रत्यक्ष उपलब्ध गराउने, राहत वितरणलाई एकद्वार प्रणालीमा ल्याउने तथा बस्तीमा प्रवेशका लागि स्पष्ट नीति बनाउने सुझाव दिएका छन्। उनीहरूका अनुसार राउटे समुदायलाई समस्या होइन, नेपालको मौलिक पहिचानका रूपमा बुझ्दै उनीहरूको जीवनशैली र अधिकारको सम्मान गर्दै संरक्षण गर्नुपर्ने आवश्यकता छ।
श्रोत: अनलाईन खबर
तपाईको प्रतिक्रिया