२०८२ साल फाल्गुन १२
हाइस्पीड सम्वाददाता
धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैंसेगौडामा पोखराबाट काठमाडौं आउँदै गरेको ग२ख १४२१ नम्बरको बस त्रिशूली नदीमा खस्दा कम्तीमा १७ जनाको घटनास्थलमै मृत्यु भएको छ भने उपचारका क्रममा थप दुई जनाले ज्यान गुमाएका छन्। दुर्घटना राति करिब १ बजे भएको हो।
दुर्घटनामा परेकी एङ्जी शेर्पाले राष्ट्रिय ट्रमा सेन्टरको शय्याबाट सुनाएको विवरणले घटनाको भयावहता झल्काउँछ। उनका अनुसार बसमा ठूलो आवाजमा संगीत बजिरहेको थियो र अधिकांश यात्रु निदाइरहेका थिए। एक्कासि बस भीरबाट तल खसेपछि यात्रुहरू चिच्याइरहेका थिए। उनले अर्धचेत अवस्थामा भेटिएका श्रीमान् लोप्साङ लामालाई बचाउन प्रयास गरे पनि एक घण्टापछि श्वास बन्द भएको बताइन्।
घटनास्थलमा समयमै उद्धार नपुग्दा धेरै घाइतेले ‘गोल्डेन आवर’ अर्थात् दुर्घटनापछिको पहिलो एक घण्टाभित्र उपचार पाउन सकेनन्। ट्रमा सेन्टरका हाडजोर्नी विशेषज्ञ डा. दीपेन्द्र पाण्डेका अनुसार यही समय ज्यान जोगाउन सबैभन्दा महत्वपूर्ण हुन्छ। तर नेपालमा दुर्घटनास्थलबाट अस्पतालसम्म पुर्याउनै चार–पाँच घण्टा लाग्ने अवस्था छ, जसका कारण बाटोमै मृत्यु हुने वा अस्पताल पुग्दासम्म अवस्था जटिल भइसकेको पाइन्छ।
सरकारले २०७७ सालमा प्रत्येक प्रदेशका राजमार्ग क्षेत्रमा ट्रमा सेन्टर स्थापना गर्ने नीति ल्याए पनि कार्यान्वयन हुन सकेको छैन। हाल काठमाडौं र भरतपुरमा मात्र ट्रमा सेवा उपलब्ध छ। पछिल्लो सात वर्षमा १७ हजार ६ सय ७० जनाले सडक दुर्घटनामा ज्यान गुमाएका छन्, दैनिक औसत ७ जनाको मृत्यु हुने तथ्यांक छ। चालु आर्थिक वर्षको पहिलो ६ महिनामै १ हजार २ सय ८० जनाले ज्यान गुमाइसकेका छन्।
स्वास्थ्य मन्त्रालयले डीपीआर, जग्गा प्राप्ति र निर्माण प्रक्रियामा ढिलाइका कारण योजना अघि बढ्न नसकेको स्वीकार गरेको छ। राजमार्ग आसपासका अस्पतालमा प्राथमिक ट्रमा केयर इकाइ स्थापना गर्ने बजेटीय घोषणा भए पनि अधिकांश योजना कागजमै सीमित छन्।
विशेषज्ञहरूका अनुसार दुर्घटनास्थलमै प्रशिक्षित प्यारामेडिक्सद्वारा प्राथमिक उपचार सुरु गर्ने ‘प्रि–हस्पिटल केयर’ प्रणाली नेपालमा प्रभावकारी छैन। अधिकांश एम्बुलेन्समा पर्याप्त अक्सिजन र उपकरणसमेत नहुँदा घाइतेलाई जस्तो अवस्थामा भेटियो त्यही अवस्थामा अन्य सवारीमा अस्पताल ल्याउने प्रवृत्ति छ। ट्रमा सेन्टरको तथ्यांकअनुसार ४० प्रतिशत घाइते मात्र एम्बुलेन्सबाट अस्पताल पुग्छन्।
चिकित्सकहरूको निष्कर्ष छ राजमार्ग नजिक ट्रमा केयर केन्द्र स्थापना, एम्बुलेन्स मापदण्ड कडाइका साथ कार्यान्वयन, उद्धारकर्मीलाई तालिम र आमनागरिकमा प्राथमिक उपचारबारे जनचेतना फैलाउन सके मात्रै यस्ता दुर्घटनापछि हुने मृत्यु दर उल्लेख्य रूपमा घटाउन सकिन्छ। ‘गोल्डेन आवर’ जोगाउन नसक्दा नेपालमा सडक दुर्घटना अझै पनि ज्यानलिने प्रमुख संकटकै रूपमा देखिएको छ।
श्रोत: अनलाईन खबर
तपाईको प्रतिक्रिया