२०८२ साल फाल्गुन १२
हाइस्पीड सम्वाददाता
भैरहवा र पोखराका चुनावी सभा स्थगित गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मंगलबार सुनसरीको इटहरीमा ‘परिवर्तन उद्घोष सभा’ आयोजना गर्दै चुनावी अभियानलाई तीव्रता दिएको छ। सभामा भावी प्रधानमन्त्रीका रूपमा अघि सारिएका बालेन्द्र शाह (बालेन) र सभापति रवि लामिछानेले आ–आफ्नो धारणा प्रस्तुत गरे।
किरात संस्कृतिको प्रतीक ‘सिलम साक्मा’ लगाएर सम्बोधन गरेका बालेनले प्रदेश–केन्द्रित विकास, कृषि आत्मनिर्भरता र औद्योगिक वातावरण सुधारलाई प्राथमिकता दिए। पूर्वी पहाडमा उत्पादन हुने अर्गानिक तरकारी तराईका भान्छासम्म पुर्याउने, जमिन बाँझो हुन नदिने तथा सुनसरी–मोरङ औद्योगिक करिडोरमा उद्योगमैत्री वातावरण बनाउने उनले बताए। धरानको खानेपानी समस्या समाधानका लागि कोशीबाट ‘मेकानिकल लिफ्टिङ’मार्फत पानी ल्याउने योजना अघि बढाइने उनको भनाइ थियो। साथै, कोशी नदी किनारलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने, मुकुमलुङ, खुवालुङ, पाथीभरा तथा वराहक्षेत्रलाई राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने लक्ष्य पनि उनले सार्वजनिक गरे।
खेलकुदतर्फ उनले पूर्व क्षेत्रबाट धेरै फुटबल खेलाडी उत्पादन हुने उल्लेख गर्दै ग्रासरुट तहमा प्रशिक्षण केन्द्र र खेल मैदान विकास गर्ने योजना अघि सारे।
उता, सभापति लामिछानेले आलोचनाको जवाफ दिन शब्द खर्चिए। नेपाली कांग्रेस सभापति गगन थापाको नाम नलिई उनले बालेनको अभिव्यक्तिको बचाउ गरे। धनगढी सभामा बालेनले सडक निर्माणमा ढिलासुस्ती गर्नेलाई ‘रुखमा बाँध्ने’ अभिव्यक्ति दिएको प्रसंगमा थापाले कानुन संशोधनको आवश्यकता औंल्याएका थिए। इटहरीमा लामिछानेले कानुनअनुसार काम गरे कसैले नआत्तिनुपर्ने भन्दै ‘बाँध्ने भनेको कानुनले बाँध्ने’ स्पष्ट पारे।
लामिछानेले आगामी पाँच वर्ष रास्वपाले देश चलाउने दाबी गर्दै अन्य दललाई सुधारका लागि समय लिन सुझाव दिए। समग्रमा, इटहरी सभामा बालेनले विकास र उत्पादनमुखी एजेन्डा अघि सारे भने लामिछानेले राजनीतिक आलोचनाको प्रतिवाद गर्दै चुनावी माहोल तताए।
तपाईको प्रतिक्रिया