जेनजी आन्दोलनपछिको राजनीतिक घटनाक्रमले नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री Sher Bahadur Deubaको सक्रिय राजनीतिक यात्रामा अप्रत्याशित मोड ल्याएको छ।
आन्दोलनअघि उनलाई भावी प्रधानमन्त्रीका रूपमा हेरिएको थियो। तर २३–२४ भदौमा भएको जेनजी आन्दोलनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताच्युत गराउनुका साथै देउवाको सम्भावित छैटौं पटकको प्रधानमन्त्री यात्रामा समेत ब्रेक लगाएको बताइन्छ। २४ भदौमा आन्दोलनका क्रममा देउवा आक्रमणमा परेका थिए। त्यसको चार महिनापछि सम्पन्न कांग्रेसको विशेष महाधिवेशनबाट उनी पदमुक्त भए।
देउवाले उक्त विशेष महाधिवेशनलाई मान्यता नदिँदै अदालतमा चुनौती दिएका छन्। कांग्रेसको आधिकारिकता विवादबीच विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वले आगामी निर्वाचनका लागि टिकट वितरण गर्दा देउवा टिकटबाट वञ्चित भए। यद्यपि, उनले सचिवालयमार्फत आफू निर्वाचन नलड्ने घोषणा गरेका थिए।
२०४८ सालदेखि लगातार विजयी हुँदै आएका आफ्नो गृहजिल्ला डडेलधुरामा यसपटक युवा नेता नैनसिंह महरले टिकट पाएका छन्। स्रोतका अनुसार महरलाई टिकट दिँदा देउवा असन्तुष्ट थिए र यसबारे आफूलाई पूर्वपरामर्श नगरिएको उनको गुनासो थियो।
निर्वाचन आउन एक सातामात्र बाँकी रहँदा देउवा सिंगापुर प्रस्थान गरेपछि विभिन्न अड्कलबाजी सुरु भएका छन्। कांग्रेस डडेलधुराका सभापति भीमबहादुर साउदका अनुसार देउवा स्वास्थ्य परीक्षणका लागि सिंगापुर गएका हुन्। फर्किने मिति भने यकिन भइसकेको छैन।
प्रजातन्त्र पुनर्बहालीपछिका आठवटा संसदीय निर्वाचनमा लगातार जित हात पारेका देउवा यसपटक भने चुनावी मैदानबाहिर छन्। उनले न त औपचारिक रूपमा मत मागेका छन्, न त डडेलधुरावासीलाई सार्वजनिक धन्यवाद दिएका छन्।
कांग्रेसभित्र बढेको तिक्तता र अदालतमा विचाराधीन विवादका कारण सार्वजनिक धारणा नदिएको नेताहरूको भनाइ छ। पूर्वप्रधानमन्त्री देउवाको मौनता र विदेश प्रस्थानले कांग्रेस वृत्तमा थप चासो र चर्चा पैदा गरेको छ।
डडेलधुराको रुवाखोलामा जन्मिएका देउवा २०१७ सालदेखि राजनीतिमा सक्रिय छन्। २०७२ सालमा १३औं महाधिवेशनबाट कांग्रेस सभापति बनेका उनी १४औं महाधिवेशनमा पुनः निर्वाचित भएका थिए। २०४८ सालदेखि सुरु भएको उनको संसदीय यात्रा २०७९ सम्म निरन्तर विजयी रह्यो।
तर जेनजी आन्दोलनपछिको बदलिएको राजनीतिक समीकरणले देउवालाई यसपटक प्रत्यक्ष प्रतिस्पर्धाबाट बाहिर राखेको छ। आगामी दिनमा अदालतको निर्णय र उनको स्वास्थ्य अवस्थाले उनको राजनीतिक भविष्यको दिशा निर्धारण गर्ने देखिन्छ।
तपाईको प्रतिक्रिया