निर्वाचन आयोगले आगामी निर्वाचनलाई लक्षित गर्दै हिमाली तथा पहाडी दुर्गम क्षेत्रमा मतपेटिका ढुवानी र संकलनका लागि विशेष कार्ययोजना तयार पारेको छ। भौगोलिक रूपमा विकट क्षेत्रहरूमा निर्वाचन सामग्री, कर्मचारी तथा सुरक्षाकर्मी पुर्याउन र मतदानपछि मतपेटिका सुरक्षित रूपमा मतगणना स्थलसम्म ल्याउन हेलिकप्टर प्रयोग गरिने आयोगले जनाएको छ।
निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतका अनुसार मतदानअघि नै हुम्ला र डोल्पाका अति दुर्गम २७ स्थानमा हेलिकप्टरमार्फत मतपत्र, कर्मचारी र सुरक्षाकर्मी पठाइसकिएको छ। तीमध्ये डोल्पाका २३ र हुम्लाका ४ मतदान केन्द्र रहेका छन्।
यसैगरी, मतदान सम्पन्न भएपछि ताप्लेजुङदेखि दार्चुलासम्मका १५ जिल्लाका ६१ दुर्गम स्थानबाट मतपेटिका संकलन गर्न पनि हेलिकप्टर प्रयोग गरिनेछ। अन्य सडक सञ्जालले जोडिएका सुगम क्षेत्रहरूमा भने सवारी साधनमार्फत नै मतपेटिका ढुवानी गरिने आयोगले स्पष्ट पारेको छ।
मतपेटिका सुरक्षित र व्यवस्थित रूपमा मतगणना स्थलसम्म ल्याउन आयोगले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई आवश्यक बजेट पठाइसकेको छ। प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सुरक्षा निकायको समन्वयमा देशभरका १६५ मतगणना स्थलमा मतपेटिका पुर्याइने व्यवस्था मिलाइएको आयोगले जनाएको छ।
तपाईको प्रतिक्रिया