२०८२ साल फाल्गुन २०
हाइस्पीड सम्वाददाता
एक सचेत नागरिकले लेखेको खुला पत्रमार्फत २०८२ साल भदौ २३–२४ मा भएको ‘जेनजी’ (Gen Z) आन्दोलन, त्यसका उपलब्धि र क्षति तथा समकालीन राजनीतिक परिवेशबारे गम्भीर टिप्पणी सार्वजनिक भएको छ। पत्रमा आन्दोलनलाई भ्रष्टाचार, राजनीतिक अस्थिरता, सामाजिक असमानता, बेरोजगारी र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा युवापुस्ताले उठाएको सशक्त आवाजका रूपमा चित्रण गरिएको छ।
सामाजिक सञ्जाल प्रतिबन्धको विरोधबाट सुरु भएको आन्दोलन देशव्यापी बनेको उल्लेख गर्दै त्यसले युवामा राजनीतिक चेतना र सहभागिता बढाएको दाबी गरिएको छ। आन्दोलनपछि सुधारसम्बन्धी राष्ट्रिय प्रस्ताव अगाडि बढ्नु, शहीद घोषणा तथा सरकारमाथि सुधारका लागि दबाब सिर्जना हुनु उपलब्धिका रूपमा उल्लेख गरिएको छ।
तर आन्दोलनका क्रममा ठूलो आर्थिक तथा मानवीय क्षति भएको पनि पत्रमा औँल्याइएको छ। सञ्चार क्षेत्रमा करिब ७७ करोड रुपैयाँ, उद्योग–व्यवसायमा करिब ३८ अर्ब रुपैयाँ बराबरको क्षति भएको तथ्यांक उद्धृत गरिएको छ। तोडफोड, आगजनी र उद्योग बन्दका कारण १० हजारभन्दा बढी श्रमिकको रोजगारी जोखिममा परेको तथा ७८ जनाको मृत्यु भएको उल्लेख छ।
पत्रमा त्यसपछिको राजनीतिक सन्दर्भमा पार्टीभित्र नेतृत्वले गरेको विद्रोहलाई ‘सानो चुनौती नभएको’ भन्दै प्रशंसा गरिएको छ। आगामी दिनमा नैतिकता, निष्ठा र परिपक्व नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै ‘भावना बेच्ने पपुलिस्ट’ राजनीतिबाट सचेत रहन आग्रह गरिएको छ। व्यक्तिपूजाभन्दा कर्म र सत्यका आधारमा नेतृत्वको मूल्यांकन हुनुपर्ने धारणा पनि व्यक्त गरिएको छ।
अर्थतन्त्र कमजोर र राज्य संस्थाहरू सुदृढ हुन नसकेको वर्तमान अवस्थामा कांग्रेस नेतृत्वले मौलिकता, साहस र सिद्धान्तमा अडिग रहेर अघि बढ्नुपर्ने सुझाव दिइएको छ। अन्त्यमा, असल कर्म र निर्भीक नेतृत्वमार्फत देशले पुनः लय समात्ने विश्वास व्यक्त गर्दै सम्बोधन गरिएको नेताको सफलताको कामना गरिएको छ।
तपाईको प्रतिक्रिया