बालेन लहर, आन्तरिक कलह र स्थानीय समीकरणले सर्लाही–४ मा गगन थापा पराजित
नेपाली कांग्रेसका सभापति गगन थापाले सर्लाही–४ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने निर्णय अन्तिम समयमा गरेका थिए। देशव्यापी चुनावी प्रचारमा सक्रिय रहन सहज हुने आकलनसहित उनले यो क्षेत्र रोजेका थिए। तर पूर्व आकलन विपरीत उनलाई क्षेत्रमा पर्याप्त समय दिनुपर्यो र अन्ततः कडा प्रतिस्पर्धाका बाबजुद पराजय भोग्नुपर्यो।
थापाको पराजयमा प्रमुख कारणका रूपमा ‘बालेन फ्याक्टर’ देखिएको छ। रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहको लहर मधेसमा फैलिएको बेला उनका समर्थकहरूले रास्वपा उम्मेदवार अमरेश सिंहको पक्षमा माहोल बनाएका थिए। बालेन्द्रले स्वयं सर्लाही पुगेर रोड शो गरेका थिए भने रास्वपा सभापति रवि लामिछानेले पनि मलंगवामा सभालाई सम्बोधन गर्दै थापाविरुद्ध अभिव्यक्ति दिएका थिए। मधेसका धेरै मतदाताले पुरानो सत्ता हटाएर नयाँ शैलीको राजनीति खोज्दै रास्वपालाई मत दिएको विश्लेषण गरिएको छ।
यससँगै कांग्रेसभित्रको आन्तरिक असन्तुष्टि पनि थापाको हारको अर्को कारण बनेको स्थानीय नेताहरू बताउँछन्। सर्लाहीका पूर्व जिल्ला सभापति सुरेन्द्र सिंह र प्रदेश सांसद वीरेन्द्र सिंहप्रति रहेको नकारात्मक धारणा र उनीहरूको प्रभाव बढ्ने डरका कारण अन्य दलका नेताहरूले अमरेश सिंहलाई समर्थन गरेको आरोप छ। स्थानीय तहका केही नेताहरूले समेत अप्रत्यक्ष रूपमा अमरेशलाई जिताउनु उपयुक्त हुने धारणा सार्वजनिक गरेका थिए।
निर्वाचनअघि थापाले विभिन्न दलका दर्जनौं नेता–कार्यकर्तालाई कांग्रेसमा प्रवेश गराए पनि उनीहरूबाट अपेक्षित मत स्थानान्तरण हुन सकेन। जसपा, लोसपा लगायत दलका केही नेताहरू कांग्रेसमा आए पनि त्यसले मत परिणाममा उल्लेख्य प्रभाव पार्न सकेन।
जातीय समीकरण, मत विभाजन र स्थानीय राजनीतिक परिस्थितिले पनि परिणामलाई प्रभावित गरेको देखिन्छ। करिब १ लाख २१ हजार मतदाता रहेको क्षेत्रमा यादव समुदायको संख्या बढी भए पनि अपेक्षित मत थापाको पक्षमा गएन। एमालेका उम्मेदवार अमनिश यादवले पनि उल्लेख्य मत ल्याउँदा प्रतिस्पर्धा मुख्यतः द्विपक्षीय बनेको थियो।
यसका अतिरिक्त भाषागत समस्या पनि थापाका लागि चुनौती बन्यो। मधेसी भाषामा सहज संवाद गर्न नसक्दा विशेषगरी महिला मतदातासँग दोहोरो संवाद गर्न कठिन भएको उनले स्वयं प्रचारका क्रममा बताएका थिए।
स्थानीय विश्लेषकहरूका अनुसार बालेनको प्रभाव, कांग्रेसभित्रको आन्तरिक असन्तोष, स्थानीय शक्ति समीकरण र भाषागत चुनौतीजस्ता कारणहरूले सर्लाही–४ मा गगन थापाको पराजय निश्चित भएको निष्कर्ष निकालिएको छ।
श्रोत: अनलाईन खबर
तपाईको प्रतिक्रिया