सामाजिक सञ्जालमा बाँदरलाई कुकुर लगाएर क्रूर तरिकाले मारिएको भिडियो सार्वजनिक भएपछि यसको व्यापक आलोचना भएको छ। महेश आचार्यको फेसबुक एकाउन्टबाट पोस्ट गरिएको उक्त भिडियोमा एउटा सानो कटेरामा राखिएका बाँदरलाई कुकुरले आक्रमण गरी लुछाचुडी गरिरहेको देखिन्छ। केही बाँदर मरिसकेका छन् भने एक माउ बाँदर डराएर आफ्नो बच्चालाई च्यापेर बसेको दृश्यले धेरै दर्शकलाई भावुक बनाएको छ।
भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूले यस्तो अमानवीय कार्यको कडा आलोचना गर्दै दोषीमाथि कारबाहीको माग गरेका छन्। धेरैले भिडियो पूरा हेर्न नसकेको भन्दै बाँदरलाई यति निर्दयी ढंगले मारिएकोप्रति दु:ख व्यक्त गरेका छन्।
महेश आचार्यका अनुसार उक्त भिडियो “संगम ह्याम्बा” नामक फेसबुक पेजबाट बाहिर आएको हो। बाँदर मार्ने व्यक्तिले नै भिडियो खिचेर सामाजिक सञ्जालमा पोस्ट गरेको र सोधीखोजी भएपछि पछि हटाइएको उनले बताए।
पशु अधिकारकर्मी इरफान खानले बाँदरको सामूहिक हत्या अत्यन्तै अमानवीय र आपराधिक कार्य भएकाले कानुनी कारबाहीका लागि प्रक्रिया सुरु गरिएको बताएका छन्। उनका अनुसार यस्तो क्रूर घटनाले सभ्य समाजलाई चुनौती दिने भएकाले दोषीलाई कडा कारबाही आवश्यक छ।
घटना ताप्लेजुङमा भएको अनुमान गरिएको भए पनि आधिकारिक रूपमा पुष्टि भइसकेको छैन। ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईले घटनाबारे जानकारी पाएपछि अनुसन्धान सुरु गरिने बताएका छन्। वन डिभिजन कार्यालय ताप्लेजुङले पनि यस विषयमा सोधखोज गरेर आवश्यक कारबाही अघि बढाउने जनाएको छ।
नेपाल सरकारले हालै जंगली रातो बाँदरलाई एक वर्षका लागि ‘कृषि हानिकारक वन्यजन्तु’ घोषणा गरे पनि मनपरी ढंगले मार्न भने पाइँदैन। बाँदर मार्नुअघि सम्बन्धित वन कार्यालयबाट अनुमति लिनुपर्ने व्यवस्था छ।
कानुनविद्का अनुसार यदि भिडियोमा देखिएजस्तो क्रूर र अवैध तरिकाले बाँदर मारिएको पुष्टि भएमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार दोषीलाई जरिवाना वा कैद सजाय हुन सक्छ।
श्रोत: अनलाईन खबर
तपाईको प्रतिक्रिया