२०८२ साल फाल्गुन २६
हाइस्पीड सम्वाददाता
न्याय सेवामा महिलाको उपस्थिति ‘समाचार’ होइन, सामान्य वास्तविकता हुनुपर्छ : महान्यायाधिवक्ता भण्डारी
महान्यायाधिवक्ता सविता भण्डारीले न्याय सेवामा महिलाको उपस्थिति अब ‘समाचार’ नभई सामान्य वास्तविकता बन्नुपर्ने बताएकी छन्। अन्तर्राष्ट्रिय महिला दिवस र अन्तर्राष्ट्रिय महिला न्यायाधीश दिवसका अवसरमा सर्वोच्च अदालतले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले न्यायपालिकामा महिलाको बढ्दो सहभागिताले न्याय प्रणालीलाई अझ समावेशी, संवेदनशील र सन्तुलित बनाएको उल्लेख गरिन्।
उनका अनुसार महिलाहरूले पारिवारिक तथा पेसागत जिम्मेवारीलाई सन्तुलनमा राख्दै ‘ग्लास सिलिङ’ तोडेर नेतृत्वतर्फ अघि बढिरहेका छन्। उनले महिलाको सफलता केवल योग्यताको मात्र नभई दृढ निश्चय र धैर्यताको परिणाम भएको बताइन्।
यद्यपि समाजले अझै पनि महिलाको नेतृत्वलाई सहज रूपमा स्वीकार गर्न नसकेको उल्लेख गर्दै उनले सामाजिक अवरोधहरू पार गर्दै अघि बढ्नु आवश्यक रहेको बताइन्।
भण्डारीले न्याय प्रणालीलाई अझ प्रभावकारी र विश्वसनीय बनाउन न्यायपालिका, महान्यायाधिवक्ताको कार्यालय तथा न्याय प्रशासनसँग सम्बन्धित निकायहरूबीच बलियो समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिइन्। साथै, महिला न्यायाधीश तथा अधिकृतहरूलाई आफ्नो नेतृत्व क्षमता, सिर्जनात्मक सोच र निर्णय क्षमता निरन्तर विकास गर्न आग्रह गरिन्।
तपाईको प्रतिक्रिया