२०८२ साल फाल्गुन २६
हाइस्पीड सम्वाददाता
ऐतिहासिक पदक जित्दा पनि पारा खेलाडी उपेक्षित
नेपाललाई पेरिस पारालिम्पिक २०२४ मा ऐतिहासिक कांस्य पदक दिलाएकी पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धन नेपाली खेलकुदका लागि गर्वको पात्र बनेकी छन्। करिब सात दशक लामो ओलम्पिक यात्रामा नेपालले पहिलो पटक कुनै पनि ओलम्पिक विधामा पदक जित्दा पलेशाको उपलब्धिले नेपाली खेलकुदमा नयाँ इतिहास रचेको हो। यस सफलतापछि केही समय नेपालमा पारा खेलकुदबारे व्यापक चर्चा भए पनि समयसँगै त्यो उत्साह सेलाउँदै गएको देखिन्छ।
पारा खेलकुदमा पलेशा मात्र होइन, दृष्टिविहीन क्रिकेट टोलीले पनि अन्तर्राष्ट्रिय स्तरमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। नेपाली पुरुष ब्लाइन्ड क्रिकेट टोलीले नियमित रूपमा विश्वकप खेल्दै आएको छ भने महिला टोलीले पहिलो ब्लाइन्ड महिला विश्वकपमा उपविजेता बन्दै इतिहास बनाएको थियो। तर, यस्ता उपलब्धिका बाबजुद पनि पारा खेलाडीहरूलाई राज्यले अपेक्षित सम्मान र सुविधा दिन नसकेको गुनासो बढ्दो छ।
नियमावलीअनुसार विश्वकप जित्ने वा उपविजेता हुने क्रिकेट खेलाडीहरूलाई ठूलो रकम पुरस्कार दिने व्यवस्था भए पनि दृष्टिविहीन महिला क्रिकेट टोलीले उपविजेता बनेपछि पनि अहिलेसम्म सरकारी पुरस्कार पाउन सकेका छैनन्। खेलाडीहरूका अनुसार महानगर बाहेक अन्य निकायबाट खासै आर्थिक सहयोग प्राप्त भएको छैन।
पारा खेलकुदमा लगानी, नीति तथा पूर्वाधारको अभाव अझै ठूलो चुनौती बनेको छ। प्रशिक्षणका लागि उपयुक्त मैदान, कभर्डहल, पहुँचयुक्त बाटो र अन्य आवश्यक सुविधा नहुँदा खेलाडीहरूले अभ्यासमै कठिनाइ भोगिरहेका छन्। कतिपय अवस्थामा खेलाडीहरू आफैंले खर्च जुटाएर अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुनुपरेको अवस्था रहेको छ।
नेपालमा पारा खेलकुदको सुरुवात २०५० को दशकपछि भएको मानिन्छ। राष्ट्रिय खेलकुद परिषद्मा पारा खेल ३८औँ खेलका रूपमा दर्ता भए पनि नीति, बजेट र व्यवस्थापनमा अझै स्पष्टता छैन। पारा ओलम्पिक कमिटीसम्बन्धी दुई अलग संगठनबीचको विवादले पनि खेलाडीहरू थप समस्यामा परिरहेका छन्।
यद्यपि सीमित स्रोत र कठिन परिस्थितिका बाबजुद पारा खेलाडीहरूले अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिष्ठा बढाइरहेका छन्। त्यसैले विज्ञहरू पारा खेलकुदलाई समान रूपमा प्राथमिकता दिँदै स्पष्ट नीति, पर्याप्त बजेट र आवश्यक पूर्वाधार विकास गर्न सरकारलाई आग्रह गरिरहेका छन्।
तपाईको प्रतिक्रिया