सुनसरीमा स्कोर्पियोको ठक्करबाट एक युवकको मृत्यु, एक महिला गम्भीर घाइते
सुनसरीको कोसी गाउँपालिका–४ मा भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने एक महिला गम्भीर घाइते भएकी छन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत इनरुवाबाट कोसी ब्यारेजतर्फ जाँदै गरेको स१च ९२१ नम्बरको स्कोर्पियोले विपरीत दिशाबाट आउँदै गरेको मधेस प्रदेश ०६–००१ प ०९५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो। दुर्घटनामा मोटरसाइकल चालक सप्तरी विष्णुपुर गाउँपालिका–२ का २८ वर्षीय अमरलाल साह र पछाडि सवार २६ वर्षीया पुष्पा साह गम्भीर घाइते भएका थिए।
गम्भीर घाइते भएका अमरलाल साहको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए। घाइते पुष्पा साहलाई थप उपचारका लागि विराटनगरस्थित गोल्डेन अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न स्कोर्पियो र चालक सप्तरी बोधेबर्साइ नगरपालिका–६ का २६ वर्षीय रञ्जित चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
श्रोत: अनलाईन खबर
तपाईको प्रतिक्रिया