कांग्रेसको निर्वाचन पराजयबारे २७ बुँदे समीक्षा, सामूहिक जिम्मेवारी स्वीकार गर्दै सभापतिको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव
नेपाली कांग्रेसले फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा अपेक्षित परिणाम नआएको विषयमा गहन समीक्षा थालेको छ। केन्द्रीय कार्यसमितिको बैठकमा उपसभापति विश्वप्रकाश शर्मा ले प्रस्तुत गरेको २७ बुँदे प्रारम्भिक प्रतिवेदनमा पार्टी पराजयका विभिन्न कारण औंल्याउँदै समग्र जिम्मेवारी सम्पूर्ण पार्टीले लिनुपर्ने उल्लेख गरिएको छ। प्रतिवेदनमा रास्वपाको विजयभन्दा कांग्रेसको पराजय ठूलो सत्य भएको उल्लेख गर्दै समयमै आफूलाई सुधार्न, बदल्न र मतदातासम्म प्रभावकारी रूपमा सन्देश पुर्याउन नसक्नु मुख्य कमजोरी रहेको निष्कर्ष निकालिएको छ।
प्रतिवेदनले पार्टीभित्र एकता अभाव, विशेष महाधिवेशनपछि छोटो समयमै निर्वाचनमा जानुपर्दा परिवर्तनको सन्देश जनतासम्म नपुग्नु, गुटबन्दी, अति राजनीतिकरण, अस्थिर सरकारप्रतिको असन्तोष, भ्रष्टाचारका मुद्दा, प्रशासनिक ढिलासुस्ती, तथा पुराना नेतृत्वप्रति बढ्दो वितृष्णा जस्ता कारणहरूलाई पराजयका प्रमुख कारक मानेको छ। साथै सामाजिक सञ्जाल र ‘एल्गोरिदम’को प्रभाव, लोकप्रियतावादको लहर, तथा नागरिक असन्तुष्टिको क्रमिक विस्फोटलाई पनि हारको महत्वपूर्ण कारणका रूपमा औंल्याइएको छ।
प्रतिवेदनमा सभापति गगन थापा ले नैतिक जिम्मेवारीस्वरूप दिएको राजीनामाको प्रशंसा गरिएको भए पनि पराजयको जिम्मेवारी एकल नेतृत्वमा सीमित नभएको उल्लेख गर्दै राजीनामा अस्वीकृत गर्न प्रस्ताव गरिएको छ। साथै पार्टीलाई पुनः सुदृढ बनाउँदै संगठनात्मक सुधार, नीतिगत स्पष्टता र मतदातासँग पुनः विश्वास निर्माणमा केन्द्रित हुनुपर्ने आवश्यकता औंल्याइएको छ।
कांग्रेसले अब जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्दै लोकतान्त्रिक प्रणाली सुदृढीकरणमा योगदान गर्ने प्रतिबद्धता जनाएको छ भने आगामी दिनमा संगठन पुनर्गठन, आन्तरिक एकता र नवीन रणनीतिमार्फत पार्टीलाई सशक्त बनाउने तयारी अघि बढाउने संकेत दिएको छ।
तपाईको प्रतिक्रिया