२०८२ साल चैत्र ११
हाइस्पीड संवाददाता
राखेपद्वारा एन्फा नेतृत्व तीन महिनाका लागि निलम्बन
राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा)को वर्तमान नेतृत्वलाई तीन महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको छ। राखेप कार्यकारी समितिको चैत ११ गते बसेको बैठकले खेलकुद विकास नियमावली २०७७ को दफा २९(२) अनुसार उक्त निर्णय गरेको हो।
राखेपका अनुसार एन्फाले पटकपटक दिइएको निर्देशन पालना नगरेपछि यस्तो कदम चालिएको हो। परिषद्ले एन्फालाई ‘कारबाही किन नगर्ने?’ भन्ने विषयमा २४ घण्टे स्पष्टीकरण मागेको थियो। तर, एन्फाले निर्वाचन प्रक्रिया नरोक्ने अडान लिएपछि निलम्बन गरिएको बताइएको छ।
विवादको मुख्य कारण एन्फाले कार्यकाल सकिनुअघि नै अर्ली इलेक्सन गर्ने तयारी गर्नु हो, जुन राखेपको स्वीकृतिबिना अघि बढाइएको थियो। परिषद्ले यसअघि पनि स्वीकृतिबिना निर्वाचन नगर्न पटकपटक निर्देशन दिएको थियो।
राखेपले एन्फाले राष्ट्रिय कानुन र स्वीकृत विधानभन्दा अन्तर्राष्ट्रिय संस्थाको निर्देशनलाई प्राथमिकता दिएको भन्दै कानुनी व्यवस्था अवज्ञा गरेको ठहर गरेको छ। साथै, परिषद्ले एन्फालाई विभिन्न ९ बुँदे निर्देशन पालना गर्न पनि भनेको छ।
यस निलम्बनसँगै नेपाली फुटबल थप संकटमा पर्ने संकेत देखिएको छ। एन्फामाथि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)बाट पनि कारबाही हुन सक्ने सम्भावना बढेको छ, जसले नेपाललाई अन्तर्राष्ट्रिय प्रतियोगिता र फिफा सहयोगबाट वञ्चित गराउन सक्छ।
श्रोत: अनलाईन खबर
तपाईको प्रतिक्रिया