२०८२ साल चैत्र २४
हाइस्पीड संवाददाता
सभामुखलाई शुभकामना दिँदै संसद् सुदृढीकरणको माग, सांसदहरूद्वारा सरकारलाई चेतावनी
प्रतिनिधिसभामा सोमबार भएको एक घण्टे विशेष समयमा ११ जना सांसदहरूले भाग लिँदै नवनिर्वाचित सभामुख डोलप्रसाद अर्याललाई शुभकामना दिएका छन्। साथै उनीहरूले आगामी दिनमा सभामुखले निष्पक्ष र तटस्थ भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन्। सांसदहरूले संसद् कमजोर बन्ने, सरकारले संसद्को आवाज नसुन्ने र प्रतिपक्षको भूमिका कमजोर हुने सम्भावनाप्रति समेत चिन्ता व्यक्त गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले संसद्को गरिमा जोगाउनुपर्नेमा जोड दिँदै सदनलाई “गुरुकुल” जस्तो बनाउनुपर्ने बताए। उनले अघिल्लो कार्यकालमा संसद् कार्यपालिका र दलगत प्रभावमा परेको आरोप लगाउँदै अब सिद्धान्त र संस्कारमा आधारित अभ्यास आवश्यक रहेको बताए। साथै, जनताका प्रश्नको सम्बोधन नभए सडकबाट दबाब आउने चेतावनी पनि दिए।
नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सभामुखको भूमिका अत्यन्त संवेदनशील र महत्वपूर्ण हुने उल्लेख गर्दै निष्पक्षता कायम राख्न ऐतिहासिक उदाहरण प्रस्तुत गरे। उनले सभामुखले संविधान, नियमावली र स्थापित मान्यताअनुसार आफ्नो अधिकारको रक्षा गर्नुपर्नेमा जोड दिए।
रास्वपाकै सांसद गणेश पराजुलीले पाँच मुख्य विषय उठाउँदै संसद् सुदृढीकरणका लागि सुझाव दिएका छन्। उनले शक्तिपृथकीकरणको सिद्धान्त पालना, सांसदका आवाजको सम्बोधन, समयमै प्रि–बजेट छलफल, स्वार्थ समूहको प्रभाव नियन्त्रण र सांसदलाई मन्त्रीको ढोका चहार्नु नपर्ने व्यवस्था गर्नुपर्नेमा जोड दिए।
सांसदहरूले समग्रमा संसद्लाई प्रभावकारी, उत्तरदायी र जनमुखी बनाउन सभामुख तथा सरकार दुवैले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।
श्रोत: अनलाईन खबर
तपाईको प्रतिक्रिया