धेरै मानिसले अनुभव गरेका हुन्छन्सु तिरहेको बेला अचानक हातखुट्टा चल्नु, लात हान्नु वा झट्का लागेजस्तो हुनु। अझ सपना देखिरहेका बेला यस्तो हुनु सामान्य हो कि कुनै समस्या ? वैज्ञानिक अनुसन्धानले देखाएको छ कि यसको कारण हाम्रो मस्तिष्क र शरीरबीचको जटिल सम्बन्ध हो।
मानिस सुत्दा विशेष गरी REM (Rapid Eye Movement) निद्रा चरणमा सपना देखिन्छ। यो अवस्थामा मस्तिष्क अत्यन्त सक्रिय हुन्छ, तर शरीरलाई सामान्यतया “अस्थायी पक्षघात (paralysis)” जस्तो अवस्थामा राखिन्छ, ताकि हामीले सपनामा गरेको गतिविधि वास्तविक रूपमा नदोहोऱ्याऔँ । तर कहिलेकाहीँ यो नियन्त्रण पूर्ण रूपमा काम गर्दैन, जसका कारण हातखुट्टा चल्न थाल्छन् वा मानिसले सपनाअनुसार प्रतिक्रिया दिन सक्छ ।
विशेषज्ञका अनुसार, सुत्न लाग्दा वा सुतिरहँदा देखिने झट्का (hypnic jerk) निकै सामान्य हो। शरीर निद्रामा प्रवेश गर्दा स्नायु प्रणालीमा सानो “misfire” हुँदा मांसपेशी अचानक चल्न सक्छन् । यस्तो झट्का करिब ६०–७० प्रतिशत मानिसले जीवनमा अनुभव गर्ने तथ्य समेत अध्ययनले देखाएको छ । तनाव, थकान, अत्यधिक कफी सेवन वा निद्राको कमीले यस्तो झट्का अझ बढाउन सक्छ।
यति मात्र होइन, कहिलेकाहीँ यो अवस्था REM Sleep Behavior Disorder (RBD) नामक समस्या पनि हुन सक्छ, जहाँ मानिसले सपनालाई वास्तविक रूपमा “act out” गर्छ जस्तै लात हान्ने, कराउने वा हल्लिने । यस्तो अवस्था दीर्घकालीन भएमा स्नायुसम्बन्धी रोगसँग पनि सम्बन्धित हुन सक्छ, त्यसैले बारम्बार यस्तो भए चिकित्सकको सल्लाह लिन सुझाव दिइन्छ।
अनुसन्धानले अर्को रोचक तथ्य पनि देखाएको छ निद्रामा हुने साना चालचलनले शरीरको स्नायु प्रणालीलाई सक्रिय राख्न र समन्वय सुधार्न समेत भूमिका खेल्न सक्छ ।
यसरी हेर्दा, सुत्दा हातखुट्टा चल्नु प्रायः सामान्य शारीरिक प्रक्रिया भए पनि कहिलेकाहीँ गम्भीर संकेत पनि हुन सक्छ। त्यसैले यदि यस्तो गतिविधि धेरै हुन्छ, चोटपटक लाग्ने अवस्था आउँछ वा निद्रा बिग्रिन्छ भने यसलाई बेवास्ता नगरी विशेषज्ञसँग परामर्श लिनु बुद्धिमानी हुन्छ।
तपाईको प्रतिक्रिया