२०८२ साल चैत्र २५
हाइस्पीड संवाददाता
प्रतिनिधिसभाको उपसभामुख पदका लागि २७ चैतमा निर्वाचन हुने तय भएको छ। संवैधानिक प्रावधानअनुसार सभामुख र उपसभामुख फरक–फरक दल र फरक–फरक लिंगका हुनुपर्ने भएकाले अब महिला उम्मेदवार फरक दलबाट चयन हुनुपर्नेछ।
सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डोलप्रसाद अर्याल निर्वाचित भइसकेका छन्। यस्तो अवस्थामा उपसभामुख चयनमा रास्वपाको समर्थन निर्णायक बन्ने देखिएको छ, किनकि प्रतिनिधिसभामा सबैभन्दा बढी १८२ सांसद रास्वपाकै छन्।
हाल प्रतिनिधिसभामा रहेका दलहरूमध्ये नेकपा एमाले र नेपाली कांग्रेसले उपसभामुखमा खास चासो देखाएका छैनन् भने नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले दाबी प्रस्तुत गरेका छन्। ती दलहरूले रास्वपासँग औपचारिक तथा अनौपचारिक छलफलसमेत अघि बढाएका छन्।
उपसभामुख चयनमा संवैधानिक परिषद्को शक्ति सन्तुलनलाई समेत ध्यानमा राखेर रास्वपाभित्र रणनीतिक छलफल भइरहेको बताइएको छ। प्रधानमन्त्रीको अध्यक्षतामा रहने उक्त परिषद्मा सभामुख, उपसभामुख, प्रधानन्यायाधीश, राष्ट्रिय सभाका अध्यक्ष र विपक्षी दलका नेता सदस्य रहने व्यवस्था छ।
यस परिषद्ले प्रधानन्यायाधीश तथा संवैधानिक निकायका प्रमुखहरूको नियुक्तिका लागि सिफारिस गर्ने भएकाले उपसभामुख पदको चयनलाई राजनीतिक रूपमा महत्वपूर्ण मानिएको छ।
श्रोत: अनलाईन खबर
तपाईको प्रतिक्रिया