नेकपा एमालेकी सांसद सम्झना देवकोटाले बजारमा ग्यास अभाव बढ्दै गएको र उपभोक्ताले सहज रूपमा ग्यास प्राप्त गर्न नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्। राष्ट्रिय सभाको बुधबारको बैठकमा विशेष समयमा बोल्दै उनले बजारमा धेरै ग्यास कम्पनीहरू हुँदाहुँदै पनि उपभोक्ता सास्ती भोग्न बाध्य भएको गुनासो गरिन्।
उनका अनुसार ग्यास पाइए पनि कम्पनीहरूले अर्को कम्पनीको सिलिन्डर साट्न अस्वीकार गर्ने वा साटेमा समेत अतिरिक्त पाँच सय रुपैयाँ शुल्क लिने गरेका छन्, जसले न्यून तथा मध्यम आय भएका परिवारलाई थप मार परेको छ। उनले ग्यास कम्पनीहरूबीच समन्वय गरी बिना अतिरिक्त शुल्क सहज रूपमा सिलिन्डर साट्न पाउने व्यवस्था मिलाउन सरकारसँग माग गरिन्।
सांसद देवकोटाले मध्यपूर्वमा जारी द्वन्द्वका कारण पेट्रोलियम पदार्थ र ग्यासको मूल्य बढ्दा देशमा महँगी चुलिएको उल्लेख गरिन्। दैनिक उपभोग्य वस्तुको मूल्य अस्वाभाविक रूपमा वृद्धि हुँदा सर्वसाधारणको भान्सा प्रभावित भएको र धेरै परिवार आर्थिक दबाबमा परेको उनको भनाइ छ।
साथै उनले मध्यपूर्वमा रहेका नेपालीहरूको सुरक्षाप्रति चिन्ता व्यक्त गर्दै उनीहरूको सुरक्षा सुनिश्चित गर्न सरकारलाई सक्रिय पहल गर्न आग्रह गरिन्।
श्रोत: अनलाईन खबर
तपाईको प्रतिक्रिया