नमिता दवाडी बाट लेखिएको कविता डोब
- २०७७ असार ६ शनिवार
२०७७ असार ६ ,
आउनेहरु आईरहन्छन , जानेहरु गैरहन्छन ,
कसैसँग ठोकिनुलाई कसैले भाग्य भन्छन् ,
कसैले संयोग ठान्छन् ।
दृष्टि अनुसारकै दृश्य बन्छ , बिचार जन्मिन्छ।
तर ठोकिनुको शत्यले आफ्नो डोब छोडेको हुन्छ,
अत्यन्त सुषुप्त झैँ आफ्नो काम गरिरहन्छ,
खनिरहन्छ मुहान हृदयको सगरमाथामा,
उसलाई के थाहा !
ऊ नदी बनी बग्ने तयारीमा छ
अनि समाधिस्त हुँदै छ समुद्रमा!!
कहिले फुटेर आगो भै निस्कन्छ ,
कहिले पग्लिएर पानी ,
अन्धकारमा उज्यालो फिलिङ्गो झैँ कहिले ,
कहिले अँध्यारिन्छ दिनको सुरम्य प्रकाशमा पनि।
बेरङ्ग , बेढङ्ग मनपरि गरिरहन्छ,
भित्र कतै लुकेर यो हृदय नामको शत्य ।
हो यसरी सुटुक्क भित्र छिरेर ,
बेइमानी गर्ने यो शत्यको डोबलाई ,
तिम्रो जिन्दगीको अदालतमा ,
तिम्रा आदर्शका न्यायाधीशले
तिम्रो उजुरीनामा माथी केही गर्न सक्दैनन् !
यो सर्बोपरी बनेर,
तिम्रो मन मकानमा राज गरिरहनेछ ,
तिम्रो अन्तिम अस्तित्व सम्म।
तपाईको प्रतिक्रिया