२०८२ साल चैत्र ३०
हाइस्पीड संवाददाता
केरा आयात कडाइपछि बजारमा हाहाकार : मूल्य आकासियो, किसान–व्यवसायीबीच चर्कियो विवाद
सरकारले भारतबाट केरा आयातमा कडाइ गरेपछि नेपाली बजारमा केराको अभाव सिर्जना भई मूल्य आकासिएको छ। काठमाडौं उपत्यकामा होलसेलमै प्रतिदर्जन २३० रुपैयाँसम्म पुगेको केरा खुद्रा बजारमा ३३० रुपैयाँसम्म बिक्री भइरहेको छ। कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिका अनुसार एक वर्षमै केराको मूल्य करिब दोब्बर बढेको छ।
आपूर्ति घटेपछि किसान र व्यवसायीबीच गहिरो विवाद सुरु भएको छ। नेपाल फलफूल थोक व्यवसायी संघले आयात रोक्ने सरकारी निर्णयलाई अव्यावहारिक भन्दै यसले तस्करी र कालोबजारी बढाएको आरोप लगाएको छ। उनीहरूका अनुसार बजारमा दैनिक २०० टन माग भए पनि हाल अत्यन्त न्यून मात्रामा स्वदेशी केरा आपूर्ति भइरहेको छ, जसले अभाव झन् चर्काएको छ।
यता, नेपाल केरा उत्पादक महासंघले भने आयात कडाइलाई ‘जैविक सुरक्षा’ का लागि आवश्यक कदम भन्दै समर्थन गरेको छ। महासंघका अनुसार भारतमा फैलिएको ‘टीआर–४’ नामक घातक रोग नेपाल भित्रिन नदिन यो निर्णय गरिएको हो, जसले दीर्घकालमा स्वदेशी उत्पादनलाई जोगाउनेछ। उनीहरूले मूल्यवृद्धि किसानका कारण नभई बिचौलियाको कृत्रिम अभाव सिर्जनाका कारण भएको दाबी गरेका छन्।
सरकारी अधिकारीहरूका अनुसार नेपाल करिब ८५ प्रतिशतभन्दा बढी केरामा आत्मनिर्भर रहेको छ र आयात हिस्सा सीमित मात्र छ। साथै, व्यवसायीहरूले दाबी गरेजस्तो ठूलो राजस्व घाटा नभएको पनि सरकारको भनाइ छ।
यद्यपि, बजारमा देखिएको अभाव, अवैध आयात र मूल्यवृद्धिबारे सरकारको स्पष्ट हस्तक्षेप नहुँदा उपभोक्ता सबैभन्दा बढी मारमा परेका छन्। विज्ञहरूले किसान, व्यवसायी र सरकारबीच समन्वय गरेर यथार्थपरक नीति निर्माण नगरे समस्या झन् गम्भीर बन्ने चेतावनी दिएका छन्।
तपाईको प्रतिक्रिया