नेपाल सरकारले अनलाइन सट्टेबाजी नियन्त्रण गर्न ठूलो कदम चाल्दै सात हजारभन्दा बढी एप र वेबसाइट बन्द गरेको छ। नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकसँग समन्वय गरी अवैध रूपमा सञ्चालनमा रहेका सट्टेबाजीसम्बन्धी प्लेटफर्महरू पहिचान गरेर बन्द गराएको हो।
प्राधिकरणका अनुसार पछिल्लो समय अनलाइन सट्टेबाजीबारे गुनासाहरू बढ्दै गएपछि कडाइ गरिएको हो। एक सातामै टेलिफोन, इमेल र सन्देशमार्फत ५० भन्दा बढी उजुरी प्राप्त भएपछि ती सबैलाई सम्बोधन गर्दै कारबाही अघि बढाइएको जनाइएको छ।
यो कदम मन्त्रिपरिषद्को चैत १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी कार्यसूचीअनुसार चालिएको हो, जसमा सट्टेबाजीसम्बन्धी एप तथा वेबसाइट २४ घण्टाभित्र बन्द गर्ने व्यवस्था गरिएको छ।
कानुनी रूपमा पनि नेपालमा सट्टेबाजी निषेधित छ। मुलुकी अपराध संहिता, २०७४ अनुसार सट्टेबाजी गर्न वा गराउन पाइँदैन, उल्लङ्घन गरेमा एक वर्षसम्म कैद र जरिवानाको व्यवस्था छ। साथै, विज्ञापनसम्बन्धी कानुनले पनि यस्ता गतिविधि प्रवर्द्धन गर्ने विज्ञापनलाई निषेध गरेको छ।
सरकारले अनधिकृत सट्टेबाजी गतिविधिमा संलग्न नहुन सर्वसाधारणलाई पुनः आग्रह गर्दै नियम उल्लङ्घन गरे कडा कारबाही हुने चेतावनी दिएको छ। साथै शंकास्पद एप वा वेबसाइटबारे जानकारी भएमा सम्बन्धित निकायलाई सूचित गर्न पनि अनुरोध गरेको छ।
श्रोत: अनलाईन खबर
तपाईको प्रतिक्रिया