भृकुटीमण्डपका बक्यौता भाडादारमाथि कडाइ : १० करोडभन्दा बढी बक्यौता, ५६ स्टलमा ताला
काठमाडौंस्थित समाज कल्याण परिषद्ले भृकुटीमण्डप क्षेत्रमा वर्षौंदेखि भाडा नतिर्ने संघ–संस्था, व्यवसायी तथा मिडिया कार्यालयहरूमा सोमबार ताला लगाएको छ। पटकपटक सूचना र ताकेता गर्दा पनि अटेरी गरेपछि परिषद्ले यो कदम चालिएको जनाएको छ। परिषद्का अनुसार कुल १० करोड ५४ लाख रुपैयाँभन्दा बढी भाडा बक्यौता रहेको छ भने ५६ स्टलले भाडा तिरेका छैनन्, जसमा ३६ स्टल अवैध रूपमा अन्य व्यक्तिलाई हस्तान्तरण गरिएका छन्।
परिषद्ले २०५४ सालदेखि भाडा नतिर्नेहरूको सूची सार्वजनिक गरेको छ। सबैभन्दा धेरै बक्यौता काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालयको रहेको छ, जसले करोडौं रुपैयाँ तिर्न बाँकी छ। त्यस्तै, विभिन्न सामाजिक संस्था, उपभोक्ता मञ्च, अपांग महासंघ, विद्यार्थी संगठन तथा पत्रकार महासंघसमेत बक्यौता सूचीमा रहेका छन्।
ताला लगाउने क्रममा केही स्थानमा विवादसमेत भएको थियो, विशेषगरी पुस्तकालयमा सुरक्षाकर्मीसहित प्रवेश गर्दा पाठकहरूले विरोध जनाएका थिए। अध्ययनरत विद्यार्थीहरूले यस्तो कार्यलाई ‘अव्यवस्थित र दवावमूलक’ भन्दै असन्तुष्टि व्यक्त गरेका थिए। विवादपछि परिषद्ले तत्काल ताला नलगाई व्यवस्थापनसँग समन्वय गर्ने निर्णय गरेको छ।
परिषद्ले बक्यौता भुक्तानीका लागि एक साताको अन्तिम म्याद दिएको छ। तोकिएको समयभित्र रकम नतिरे थप कानुनी प्रक्रिया अघि बढाइने चेतावनी पनि दिएको छ।
श्रोत: अनलाईन खबर
तपाईको प्रतिक्रिया