गृहमन्त्री गुरुङको सम्पत्ति विवरण विवादमा : हदबन्दीभन्दा बढी जग्गादेखि लुकाइएका सेयरसम्म गम्भीर प्रश्न
गृहमन्त्री सुधन गुरुङले सार्वजनिक गरेको सम्पत्ति विवरणले नै उनलाई विवादको केन्द्रमा ल्याएको छ। उनले सयौं रोपनी जग्गा आफ्नो नाममा देखाए पनि हदबन्दीभन्दा बढी जग्गा किन राज्यले अधिग्रहण नगरेको भन्ने प्रश्न उठेको छ। साथै, ८९ तोला सुन, ६ किलो चाँदी र विभिन्न कम्पनीमा गरिएको करोडौंको लगानीको स्पष्ट स्रोत खुलाइएको छैन।
गुरुङले सम्पत्ति विवरणमा अधिकांश आम्दानीलाई व्यवसाय, पैतृक सम्पत्ति र लगानी भन्दै ‘लम्पसम’ रूपमा उल्लेख गरेका छन्, तर पारदर्शी विवरण नदिँदा थप शंका उत्पन्न भएको छ। विशेषगरी, लिबर्टी माइक्रोलाइफ इन्स्योरेन्स र स्टार माइक्रोइन्स्योरेन्स कम्पनीमा रहेको २५–२५ हजार कित्ता संस्थापक सेयर सम्पत्ति विवरणमा नदेखाइनुले नैतिक र कानुनी प्रश्न खडा गरेको छ।
यस्तै, उनले २ करोड ७४ लाख रुपैयाँ बराबरको सेयर रहेको दाबी गरे पनि ती कुन कम्पनीका हुन् भन्ने खुलाएका छैनन्। पछि सामाजिक सञ्जालमार्फत दिएको स्पष्टीकरणमा भने उक्त लगानी ऋणबाट गरिएको बताएका छन्, जुन सम्पत्ति विवरणसँग मेल खाँदैन।
त्यसबाहेक, उनले ती माइक्रोइन्स्योरेन्स कम्पनीका सेयर धितोपत्र बजारमा कारोबार हुने दाबी गरे पनि ती कम्पनी अहिलेसम्म सूचीकृत नभएकाले उक्त दाबी गलत देखिएको छ। यसले मन्त्री गुरुङले स्पष्टीकरणमा समेत असत्य बोलेको आरोपलाई बल दिएको छ।
सत्तारुढ दल र सरकारका तर्फबाट यस विषयमा हालसम्म कुनै औपचारिक प्रतिक्रिया आएको छैन। सार्वजनिक पदमा रहेका व्यक्तिले सम्पत्ति विवरण पारदर्शी रूपमा सार्वजनिक गर्नुपर्ने कानुनी व्यवस्था भए पनि गुरुङको विवरणले उल्टै थप प्रश्न जन्माएको छ।
तपाईको प्रतिक्रिया