भद्रपुर मालपोतमा टोकन प्रणाली लागू, सेवा प्रवाह छरितो र पारदर्शी हुने अपेक्षा
भद्रपुरस्थित भूमिसुधार तथा मालपोत कार्यालयले सेवा प्रवाहलाई व्यवस्थित, छरितो र पारदर्शी बनाउन टोकन प्रणाली लागू गरेको छ। आजदेखि कार्यान्वयनमा ल्याइएको उक्त प्रणालीले भीडभाड घटाउने र सेवाग्राहीले लामो समय कुर्नुपर्ने समस्यालाई समाधान गर्ने अपेक्षा गरिएको छ।
कार्यालयका अनुसार दैनिक ६ वटा फाँटबाट प्रत्येकमा २५ टोकन वितरण गरिनेछ, जसअनुसार करिब १५० वटा लिखत पारित तथा निर्णयसम्बन्धी काम टोकनमार्फत सञ्चालन हुनेछ। टोकन बिहान ९ बजे दर्ता–चलानी शाखा र नागरिक सहायता कक्षबाट वितरण गरिने व्यवस्था गरिएको छ, र सेवाग्राही स्वयं आवश्यक कागजातसहित उपस्थित हुनुपर्नेछ।
यस प्रणालीमार्फत लिखत पारित, नामसारी, दाखिला खारेज, संशोधन, प्रतिलिपि, रोक्का लगायत सेवा उपलब्ध गराइनेछ भने केही अन्य सेवाका लागि टोकन आवश्यक नपर्ने जनाइएको छ।
यससँगै कार्यालयले अनधिकृत व्यक्तिको प्रवेशमा कडाइ गरेको छ। सेवाग्राहीले अब परिचय खुल्ने कागजात देखाएर मात्र प्रवेश पाउनेछन् भने आवश्यक परेमा मात्र कानुन व्यवसायी तथा लेखापढी व्यवसायीलाई अनुमति दिइनेछ।
तपाईको प्रतिक्रिया