२०८२ साल बैशाख ९
हाइस्पीड संवाददाता
नागरिकमैत्री सेवा र अपराध नियन्त्रणमा कडाइ गर्न प्रहरीलाई महानिरीक्षक कार्कीको निर्देशन
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सबै प्रहरी कर्मचारीलाई नागरिकको अपेक्षाअनुसार उत्कृष्ट बोली, व्यवहार र सेवा प्रवाह सुनिश्चित गर्न निर्देशन दिएका छन्। नेपाल प्रहरी प्रधान कार्यालयबाट बुधबार भर्चुअल माध्यममार्फत आयोजित सम्बोधनमा उनले प्रभावकारी कार्यसम्पादनमा कुनै कमजोरी नआउने गरी काम गर्न आग्रह गरे।
महानिरीक्षक कार्कीले सरकारका नीति तथा कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्दै अपराध नियन्त्रणका लागि सूचना संकलन र विश्लेषणलाई प्राथमिकता दिनुपर्ने बताए। उनले लागूऔषध उत्पादन, ओसारपसार र कारोबारमा संलग्नलाई कानुनी दायरामा ल्याउन तथा सेवनकर्ताका लागि सुधारात्मक कार्यक्रम सञ्चालन गर्न जोड दिए।
सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि र तस्करी नियन्त्रणमा शून्य सहनशीलता अपनाउन निर्देशन दिँदै उनले गुण्डागर्दी नियन्त्रण, फरार प्रतिवादी पक्राउ तथा फैसला कार्यान्वयनलाई तीव्रता दिनुपर्ने उल्लेख गरे। साथै, समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई प्राथमिकतामा राख्दै नागरिकसँग प्रत्यक्ष संवाद र सेवा प्रवाह प्रभावकारी बनाउनुपर्ने उनको भनाइ थियो।
कार्यक्रममा प्रहरीका उच्च अधिकारीहरू तथा देशभरका विभिन्न इकाईका प्रमुखहरूको भर्चुअल उपस्थिति रहेको थियो।
श्रोत: अनलाईन खबर
तपाईको प्रतिक्रिया