२०८२ साल बैशाख २१
हाइस्पीड संवाददाता
Rastriya Swatantra Party (रास्वपा) ले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया कडा बनाउँदै नयाँ मापदण्ड लागू गरेको छ। आइतबार केन्द्रीय सचिवालयले पारित गरेको रूपरेखाअनुसार अन्य दलबाट आएका व्यक्तिले कम्तीमा ९० दिन (तीन महिना) पूरा गरेपछि मात्र उम्मेदवार क्लबमा दर्ता हुन पाउनेछन्।
पहिलोपटक पार्टी सदस्यता लिने व्यक्तिका लागि भने ४५ दिनको अवधि तोकिएको छ। उम्मेदवार बन्न इच्छुक सबैले ‘उम्मेदवार क्लब’ मा दर्ता भई अनिवार्य रूपमा छनोट प्रक्रियामा सहभागी हुनुपर्ने व्यवस्था गरिएको छ।
यद्यपि, प्रतिष्ठित वा विशेष क्षमता भएका व्यक्तिलाई ‘ल्याट्रल इन्ट्री’ मार्फत कुलिङ पिरियड नपुगे पनि आवेदन दिन सक्ने छुट दिइएको छ। तर उनीहरूले पनि अन्य आवश्यक मापदण्ड पूरा गर्नुपर्नेछ।
रास्वपाले उम्मेदवार छनोटका लागि तीन चरणीय प्रक्रिया तय गरेको छ उम्मेदवार क्लब, लिडरसीप एकेडेमी प्रशिक्षण र परीक्षण मूल्यांकन। साथै वडा, पालिका र महानगर तहका उम्मेदवारका लागि सम्बन्धित समिति वा केन्द्रीय तहबाट लिखित सहमति अनिवार्य गरिएको छ।
उम्मेदवार छनोट चार प्रमुख आधारमा गरिनेछ: लिडरसीप एकेडेमी (२५%), पोलिटिकल प्रोक्सिमिटी (२५%), समावेशिता (१०%) र प्रारम्भिक निर्वाचन (४०%)।
पार्टीका अनुसार यो प्रणालीले पारदर्शी, योग्य र जनसमर्थन भएका उम्मेदवार छनोट गर्न मद्दत गर्नेछ।
तपाईको प्रतिक्रिया