२०८२ साल माघ २२
हाइस्पीड सम्वाददाता
“नेपालमा पहिलोपटक भ्याकुम फ्रिज ड्रायर भित्रियो : अब कृषि उत्पादन नष्ट हुने दिनको अन्त्य?”
नेपालमा कृषि तथा खाद्य प्रशोधन क्षेत्रमा ठूलो परिवर्तन ल्याउने अपेक्षासहित आर.एम. एग्रोटेक प्रा.लि. ले पहिलोपटक भ्याकुम फ्रिज ड्रायर (लायोफिलाइजेसन) प्रविधि सार्वजनिक गरेको छ। भारतको अग्रणी शीतलन समाधान प्रदायक आइस मेक रेफ्रिजरेसन लिमिटेडअन्तर्गतको ‘ड्राइमेक’ ब्रान्डमार्फत ल्याइएको यो अत्याधुनिक प्रविधिले खाद्य सामग्री सुकाउने प्रक्रियालाई नयाँ स्तरमा पुर्याउने विश्वास गरिएको छ।
न्यून तापक्रम र भ्याकुमको संयोजनमा आधारित यस प्रविधिबाट प्रशोधन गरिएका फलफूल, तरकारी, मासु, दुग्धजन्य पदार्थ तथा जडीबुटीमा पोषण, स्वाद, रंग र प्राकृतिक बनावट लामो समयसम्म सुरक्षित रहने बताइएको छ। विज्ञहरूका अनुसार यसले उत्पादनको गुणस्तर जोगाउँदै बजार मूल्य बढाउन मद्दत गर्नेछ।

हरेक वर्ष प्रशोधन र उचित भण्डारण अभावका कारण ठूलो परिमाणमा कृषि उत्पादन नष्ट हुँदै आएको अवस्थामा यो प्रविधि किसान र कृषि उद्यमीका लागि उच्च मूल्य अभिवृद्धिको अवसर बन्ने अपेक्षा गरिएको छ। साथै, निर्यातमुखी उत्पादनलाई प्रोत्साहन गर्दै नेपाली वस्तुको अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमता बढाउने विश्वास पनि लिइएको छ।
तीन दशकभन्दा बढी अनुभव भएको आइस मेक रेफ्रिजरेसन लिमिटेडका प्रविधिहरू आर.एम. एग्रोटेकले नेपालमा वितरण गर्दै आएको छ। कम्पनीले भ्याकुम फ्रिज ड्रायरसँगै कोल्ड स्टोरेज, चिलर, फ्रीजर र आइस प्लान्टजस्ता सम्पूर्ण कोल्ड चेन समाधान उपलब्ध गराइरहेको जनाएको छ।
कम्पनीका प्रबन्ध निर्देशक प्रकाश मेहताले कृषि संरक्षण र प्रशोधनमा आधुनिक प्रविधिको प्रयोग अब अपरिहार्य भइसकेको उल्लेख गर्दै लायोफिलाइजेसनले ऊर्जा–कुशल, गुणस्तरीय र दीगो समाधान प्रदान गर्ने बताए। उनका अनुसार यस्ता प्रविधिको विस्तारले नेपालको कृषि प्रणालीलाई आधुनिक बनाउँदै आर्थिक रूपान्तरणमा समेत महत्वपूर्ण टेवा पुर्याउनेछ।
तपाईको प्रतिक्रिया