२०८२ साल बैशाख ८
हाइस्पीड संवाददाता
देशभर लुको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
देशका विभिन्न भागमा बढ्दो तापक्रमसँगै तातो हावाको लहर (लु) को जोखिम अझै केही दिन कायम रहने भएको छ। जल तथा मौसम विज्ञान विभाग ले बिहीबारसम्म विशेषगरी तराईका जिल्लामा लु चल्ने सम्भावना रहेको जनाउँदै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
विभागका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ। धनगढी र नेपालगञ्जमा ४३ डिग्री, भैरहवामा ४४ डिग्री तथा काठमाडौंमा ३३ डिग्री सेल्सियस मापन गरिएको छ।
मौसमविद् विनु महर्जन का अनुसार पूर्वी क्षेत्रमा शनिबारसम्म र पश्चिम क्षेत्रमा अझै केही दिन तातो कायम रहनेछ। उनले दिउँसोको समयमा अनावश्यक बाहिर ननिस्कन, चिसो स्थानमा बस्न, हल्का कपडा लगाउन र प्रशस्त पानी पिउन सुझाव दिएका छन्।
लुम्बिनी र सुदूरपश्चिमका तराई जिल्लामा ‘सतर्क रहनु’ स्तरको चेतावनी जारी गरिएको छ भने अन्य धेरै जिल्लामा ‘अद्यावधिक रहनु’ स्तरको चेतावनी दिइएको छ। उच्च तापक्रमका कारण थकान, टाउको दुख्ने, चक्कर आउने तथा बेहोस हुने जस्ता समस्या देखिन सक्ने भएकाले विशेषगरी बालबालिका, वृद्ध र दीर्घरोगीलाई सावधानी अपनाउन आग्रह गरिएको छ।
श्रोत: अनलाईन खबर
तपाईको प्रतिक्रिया