२०८२ साल बैशाख ८
हाइस्पीड संवाददाता
इरानमा पक्राउ परेका नेपाली अमृत झाको रिहाइ प्रक्रिया जारी
काठमाडौं — इरानमा पक्राउ परेका नेपाली नागरिक अमृत झाको रिहाइ प्रक्रिया अझै जारी रहेको छ। स्थानीय अदालतले रिहा गर्न आदेश दिएपछि प्रक्रिया अघि बढेको भए पनि उनी हालसम्म पूर्ण रूपमा रिहा भइनसकेको परराष्ट्र मन्त्रालय ले जनाएको छ।
यसअघि मन्त्री शिशिर खनाल र मन्त्रालयले उनी रिहा भइसकेको जानकारी दिएका थिए। तर पछि बुझाइमा फरक परेका कारण वास्तविक अवस्था स्पष्ट भएको हो। मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्री का अनुसार अदालतको आदेशपछि आवश्यक समन्वय हुँदै रिहाइ प्रक्रिया अघि बढिरहेको छ।
अमृत झा फारसी खाडीको होर्मुज स्ट्रेट क्षेत्रमा इरानी सुरक्षाकर्मीले नियन्त्रणमा लिएका सात जनामध्ये एक हुन्। उनी कार्यरत जहाजले अन्तर्राष्ट्रिय कानुन उल्लंघन गरेको आरोपमा पक्राउ गरिएको थियो। पक्राउ परेकामध्ये चार जना यसअघि नै रिहा भइसकेका छन् भने अमृतसहित तीन जनाको रिहाइ प्रक्रिया जारी छ।
वैदेशिक रोजगारीका लागि यूएई गएका झा ‘अल लुलु मरिन सर्भिसेस एलएलसी’ मा सीम्यानका रूपमा कार्यरत थिए। पक्राउपछि उनले सरकारसँग रिहाइका लागि पहल गर्न आग्रह गरेका थिए, जसअनुसार मन्त्रालय, कन्सुलर सेवा विभाग तथा कतारस्थित नेपाली दूतावासले समन्वय गरिरहेका छन्।
श्रोत: अनलाईन खबर
तपाईको प्रतिक्रिया