२०८२ साल बैशाख १३
हाइस्पीड संवाददाता
अन्तर्राष्ट्रिय तनावले मल आपूर्ति संकट: साउनपछिको खेती जोखिममा
पश्चिम एसियामा चर्किएको भूराजनीतिक तनावका कारण नेपालमा रासायनिक मल आपूर्ति संकट गहिरिने संकेत देखिएको छ। होर्मुज जलडमरूमध्य अवरुद्ध हुँदा खरिद सम्झौता भइसकेको करिब ९४ हजार टन मल आयात रोकिएको छ भने थप ९० हजार टन खरिद प्रक्रिया समेत प्रभावित बनेको छ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालय र मातहतका निकायहरूले हालको मौज्दात (करिब १ लाख ५० हजार टन) ले असारसम्म मात्र धान्ने बताएका छन्। तर साउनपछिको धान र मकै सिजनमा गम्भीर अभाव हुने जोखिम बढेको छ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य दोब्बरभन्दा बढी बढेपछि आपूर्तिकर्ताहरूले ‘फोर्स मेजर’ घोषणा गर्दै ठेक्का कार्यान्वयन नगरेका छन्। पछिल्ला टेन्डरहरूमा समेत कसैले चासो नदेखाउँदा सरकार थप समस्यामा परेको छ।
यसबीच सरकारले भारतसँग जीटुजी (सरकार–सरकार) संयन्त्रमार्फत १ लाख ५० हजार टन मल आपूर्ति गर्न अनुरोध गरेको छ। तर भारत स्वयं पनि आयातमा निर्भर रहेकाले तत्काल समाधान सहज नहुने देखिन्छ।
विशेषज्ञहरूका अनुसार अन्तर्राष्ट्रिय आपूर्ति शृङ्खलामा आएको अवरोध, उच्च ढुवानी लागत र ऊर्जा संकटका कारण मलको मूल्य निरन्तर बढिरहेको छ। यस्तो अवस्थामा समयमै वैकल्पिक व्यवस्था नगरे नेपाली कृषि उत्पादनमा गम्भीर असर पर्ने चेतावनी दिइएको छ।
तपाईको प्रतिक्रिया