चलचित्र ‘लालीबजार’ को प्रदर्शनमा लागेको रोक हटेको छ। उच्च अदालत पाटन ले यसअघि जारी गरिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिन आवश्यक नभएको ठहर गर्दै प्रदर्शनको बाटो खुला गरिदिएको हो।
न्यायाधीश खडानन्द तिवारी र नेत्रप्रकाश आचार्यको संयुक्त इजलासले रिट निवेदनमा उठाइएको विषय अन्तिम सुनुवाइका क्रममा विचार हुन सक्ने भन्दै तत्कालका लागि रोक जारी राख्नु नपर्ने निर्णय गरेको आदेशमा उल्लेख गरिएको छ।
यसअघि वैशाख १५ गते न्यायाधीश प्रकाश ढुङ्गानाको एकल इजलासले चलचित्र प्रदर्शनमा रोक लगाउने अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। उक्त आदेशपछि वैशाख १८ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म रोकिएको थियो।
रोशनी नेपालीले दायर गरेको रिटका आधारमा अदालतले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई कारण देखाऊ आदेशसमेत जारी गरेको थियो।
लालीबजार यम थापाद्वारा निर्देशित फिल्म हो, जसमा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा लगायत कलाकारको अभिनय रहेको छ। बादी समुदायका महिलाको कथामा आधारित यस फिल्मको पक्ष–विपक्षमा बहस भइरहेको छ।
चलचित्रमाथि प्रतिबन्ध लगाइएपछि यसको विरोधमा माइतीघर मण्डलामा प्रदर्शनसमेत गरिएको थियो।
तपाईको प्रतिक्रिया