२०८२ साल बैशाख २५
हाइस्पीड संवाददाता
उच्च अदालत जनकपुरले कानुन दिवसको अवसरमा शनिबार न्यायिक महोत्सव आयोजना गर्ने भएको छ। महोत्सवमा विभिन्न विषयमा अन्तरक्रिया तथा विविध स्टलहरूको प्रदर्शन गरिने कार्यक्रम रहेको छ।
अदालतका कामु न्यायाधीश टेकनारायण कुँवरका अनुसार बिहान ७ बजे जनकपुरधाममा प्रभातफेरि आयोजना गरिनेछ भने बिहान ९ बजेदेखि निधि भवनमा औपचारिक कार्यक्रम सुरु हुनेछ। दिउँसो १ बजेदेखि अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिनेछ।
महोत्सवको विशेष आकर्षणका रूपमा सर्वसाधारण तथा विद्यार्थीहरूले न्यायाधीशहरूसँग प्रत्यक्ष भेटघाट र संवाद गर्न पाउने व्यवस्था गरिएको छ। साथै, कानुनका विद्यार्थीहरूलाई व्यवहारिक ज्ञान प्रदान गर्ने, कानुन व्यवसायी र अदालतबीच समन्वय तथा सुधारका विषयमा छलफल गर्ने, र पालिकाका न्यायिक समितिहरू तथा अदालतबीचको कार्यगत सम्बन्धबारे अन्तरक्रिया गरिने जनाइएको छ।
यस अवसरमा विभिन्न कानुन क्याम्पसका शैक्षिक स्टल, सरकारी कार्यालयहरूको सेवा तथा जानकारीमूलक स्टल, कानुनी पुस्तक र न्यायिक प्रक्रियासम्बन्धी प्रदर्शनीहरू समेत राखिने उच्च अदालतले जनाएको छ।
तपाईको प्रतिक्रिया