२०८२ साल जेठ १
हाइस्पीड संवाददाता
ललितपुरमा अन्तर्राष्ट्रिय सम्मेलन हुने
ललितपुरको कुमारीपाटीस्थित मेगा कलेजमा वाणिज्य, व्यवस्थापन, डिजिटल अर्थतन्त्र र दिगो विकासका विषयमा केन्द्रित अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ। मेगा कलेजले नेपाल कमर्श एसोसिएसनसँगको सहकार्यमा जेठ १ र २ गते सम्मेलन गर्न लागेको हो।
सम्मेलनमा नेपालसहित विभिन्न देशका प्राध्यापक, अनुसन्धानकर्ता, नीति निर्माता, विद्यार्थी तथा व्यावसायिक क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहनेछ। कार्यक्रममा नवप्रवर्तन, उद्यमशीलता, डिजिटल रूपान्तरण, वित्तीय व्यवस्थापन, अन्तर्राष्ट्रिय व्यापार, मानव संसाधन, हरित अर्थतन्त्रलगायत विषयमा कार्यपत्र प्रस्तुति र छलफल गरिनेछ।
कलेजका प्राचार्य डा. घनश्यामप्रसाद साहले सम्मेलनले विद्यार्थी र अनुसन्धानकर्तालाई विश्वव्यापी वाणिज्यिक परिवर्तन बुझ्ने अवसर प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्। साथै, कक्षा कोठाको ज्ञानलाई व्यवहारिक क्षेत्रसँग जोड्न मद्दत पुग्ने उनले बताए।
सम्मेलनमार्फत सार्क क्षेत्रका विज्ञहरूलाई एउटै मञ्चमा ल्याई क्षेत्रीय व्यापार, आर्थिक नीति तथा व्यवस्थापनका चुनौतीबारे छलफल गरिनेछ। आयोजकका अनुसार सम्मेलनबाट प्राप्त निष्कर्षहरू नीति निर्माण, व्यावसायिक अभ्यास र शैक्षिक अनुसन्धानका लागि उपयोगी हुने अपेक्षा गरिएको छ।
तपाईको प्रतिक्रिया