२०८३ साल असार २
हाइस्पीड संवाददाता
नेपाल–चीन सम्बन्ध थप सुदृढ बनाउन सहकार्य विस्तार गर्ने प्रतिबद्धता
चीन भ्रमणमा रहेका नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच बेइजिङमा भेटवार्ता भएको छ। भेटका क्रममा वाङ यीले “टाढाको आफन्तभन्दा नजिकको छिमेकी राम्रो” भन्ने उक्ति उल्लेख गर्दै चीन नेपालका लागि विकास, समृद्धि र आधुनिकीकरणको यात्रामा सधैं भरपर्दो छिमेकी तथा साझेदार रहने बताएका छन्।
चिनियाँ विदेश मन्त्रालयका अनुसार वाङले नेपाल–चीन मित्रता दुवै देशका राष्ट्रिय हित र जनताको हितमा रहेको उल्लेख गर्दै चीनले नेपालसँगको सम्बन्धलाई आफ्नो छिमेकी कूटनीतिको महत्वपूर्ण प्राथमिकतामा राखेको बताए। उनले नेपालको राष्ट्रिय सार्वभौमिकता, स्वतन्त्रता र भौगोलिक अखण्डताको संरक्षणमा चीनको निरन्तर समर्थन रहने पनि स्पष्ट पारे।
भेटमा वाङले ‘एक चीन नीति’प्रति नेपालको प्रतिबद्धताको प्रशंसा गर्दै ताइवान र तिब्बतसँग सम्बन्धित चीनका मुख्य चासोका विषयमा नेपालले देखाएको समर्थनको सराहना गरेका थिए। साथै, उच्च गुणस्तरको बीआरआई अन्तर्गत विद्युत् प्रसारण, सडक, नाका तथा हवाई यातायात क्षेत्रमा सहकार्य विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे।
चीनले आफ्ना कम्पनीहरूलाई नेपालमा लगानी गर्न प्रोत्साहन गर्ने र नेपालले निष्पक्ष, पारदर्शी तथा लगानीमैत्री व्यावसायिक वातावरण उपलब्ध गराउने अपेक्षा पनि वाङले व्यक्त गरेका छन्। दुवै पक्षले बहुपक्षीय मञ्चहरूमा सहकार्य बढाउँदै विकासशील राष्ट्रहरूको साझा हित संरक्षण गर्नुपर्नेमा समेत जोड दिएका छन्।
सन् २०१९ मा चिनियाँ राष्ट्रपति Xi Jinping को नेपाल भ्रमणका क्रममा स्थापना गरिएको विकास र समृद्धिमुखी रणनीतिक सहकार्य साझेदारीले नेपाल–चीन सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने आधार तयार गरेको वाङले स्मरण गराएका छन्।
तपाईको प्रतिक्रिया