संवैधानिक परिषद्ले प्रधानन्यायाधीश पदका लागि गरेको सिफारिसविरुद्ध सर्वोच्च अदालतमा दायर गरिएका रिट निवेदनहरू दर्ता हुन नपाई दरपीठ भएका छन्। सर्वोच्च अदालत प्रशासनले उक्त रिटहरू दर्ता गर्न अस्वीकार गरेको जानकारी प्रवक्ता अर्जुन कोइरालाले दिएका छन्।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता गीता थापा र डा. प्रेमराज सिलवालले छुट्टाछुट्टै रूपमा रिट दायर गरेका थिए। उनीहरूले संवैधानिक परिषद्को निर्णय संविधानको मूल मर्मविपरीत भएको दाबी गर्दै निर्णय यथास्थितिमा राख्न र संसदीय सुनुवाइ प्रक्रिया अघि नबढाउन अन्तरिम आदेश माग गरेका थिए।
रिटमा वैशाख २४ गते ४८ घण्टाको पर्याप्त समय नदिई बैठक बोलाइएको र प्रधानन्यायाधीशका लागि गरिएको सिफारिस असंवैधानिक भएकाले बदर गर्नुपर्ने माग समेत गरिएको थियो। यद्यपि, रिट पेश भएदेखि नै प्रशासनले माथिल्लो आदेशको कारण देखाउँदै दर्तामा आनाकानी गरेको बताइएको छ।
उल्लेखनीय छ कि संवैधानिक परिषद्ले वरीयता क्रममा चौथो स्थानमा रहेका डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशका लागि सिफारिस गरेको थियो, जबकि सपना प्रधान मल्ल, कुमार रेग्मी र हरिप्रसाद फुयाँल उनीभन्दा वरिष्ठ न्यायाधीश हुन्।
तपाईको प्रतिक्रिया