२०८२ साल बैशाख २५
हाइस्पीड संवाददाता
जिल्ला प्रहरी कार्यालय सिरहाले छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूको साथबाट खैरो हिरोइनजस्तो पदार्थ र नाइट्राजेपाम ट्याब्लेट बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार धनगढीमाई नगरपालिका–१ बाट प्रदेश २-०२-००१ प ३२१२ नम्बरको मोटरसाइकलमा सवार दुई जनालाई नियन्त्रणमा लिइएको हो। पक्राउ पर्नेमा लहान नगरपालिका–१३ का ३५ वर्षीय देवकान्त चौधरी र अर्का एक व्यक्ति रहेका छन्। जाँचका क्रममा उनीहरूको पाइन्टको खल्तीबाट ३.६३ ग्राम खैरो हिरोइनजस्तो पदार्थ फेला परेको थियो।
त्यसैगरी, गोलबजार नगरपालिका–४ स्थित क्याम्पस चोकबाट लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले उदयपुर त्रियुगा नगरपालिका–९ मुसहरनिया निवासी २२ वर्षीय लोकसिंह राजपुतलाई पक्राउ गरेको छ। उनको साथबाट १० वटा नाइट्राजेपाम ट्याब्लेट बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका तीनै जनामाथि सिरहा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी रमेशबहादुर पालले जानकारी दिएका छन्।
तपाईको प्रतिक्रिया