२०८२ साल जेठ १
हाइस्पीड संवाददाता
काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले कुनै पनि बालबालिका शिक्षाको नैसर्गिक अधिकारबाट वञ्चित हुन नहुने बताएकी छन्।
महानगरपालिका तथा निजी विद्यालय सञ्चालकहरूको संस्था प्याब्सन र एन–प्याब्सनबीच बालबालिकाको शिक्षा र आवासका लागि भएको समझदारी कार्यक्रममा उनले यस्तो धारणा व्यक्त गरेकी हुन्।
डंगोलले बालबालिकालाई होस्टेलमा राखेर अध्ययन गराउने व्यवस्थाका लागि निजी विद्यालयहरूले देखाएको सक्रियता र सहकार्यको प्रशंसा गरिन्। उनले कार्यक्रममा उपस्थित बालबालिकालाई लगनशील भएर अध्ययन गर्न र भविष्यमा असल नागरिक बन्न प्रेरित गरिन्।
बालबालिकासँग उनीहरूको लक्ष्य र रुचिबारे संवाद गर्दै उनले जुनसुकै पेशामा लागे पनि समाजका लागि उपयोगी र जिम्मेवार नागरिक बन्नुपर्नेमा जोड दिइन्।
महानगरपालिका र निजी विद्यालयबीच भएको यस सहकार्यले बालबालिकाको शैक्षिक भविष्य सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।
नदी किनारका अव्यवस्थित बस्तीबाट विस्थापित भई हाल होल्डिङ सेन्टरमा बसिरहेका परिवारका बालबालिकाको शिक्षालाई निरन्तरता दिन महानगरले आवासीय सुविधासहितको व्यवस्था मिलाएको हो।
अभिभावक, महानगरपालिका र सम्बन्धित विद्यालयबीच त्रिपक्षीय सम्झौता गरी विद्यार्थीलाई छनोटका आधारमा आवाससहित निःशुल्क वा सहुलियतपूर्ण शिक्षा उपलब्ध गराइने व्यवस्था गरिएको छ।
महानगरले बालबालिकाको अध्ययन अवरुद्ध नहोस् भन्ने उद्देश्यले यो कार्यक्रम सञ्चालनमा ल्याएको जनाएको छ।
श्रोत: अनलाईन खबर
तपाईको प्रतिक्रिया