२०८३ साल असार १
हाइस्पीड संवाददाता
आर्थिक संकटप्रति बाबुरामको चिन्ता, नयाँ पुस्तालाई दिगो समाधान खोज्न आग्रह
पूर्वप्रधानमन्त्री Baburam Bhattarai ले नेपालको अर्थतन्त्र गम्भीर संरचनात्मक संकटतर्फ उन्मुख भएको भन्दै युवा नेतृत्वलाई यसको दीर्घकालीन समाधान खोज्न आग्रह गरेका छन्।
आइतबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले नेपाली चिया निर्यातमा भारतले अवरोध गरेपछि ८३ वटा चिया उद्योग बन्द हुने अवस्थामा पुग्नु र अघिल्लो वर्षको तुलनामा १२० वटा कम उद्योग दर्ता हुनु आर्थिक संकटका स्पष्ट संकेत भएको बताएका छन्।
उनका अनुसार नेपालको औद्योगिक क्षेत्र पहिले नै कमजोर अवस्थामा रहेको छ। सन् २०२४ मा उद्योग क्षेत्रको योगदान कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा ११.४ प्रतिशत र रोजगारीमा १३.८ प्रतिशत मात्र रहेको उल्लेख गर्दै उनले आर्थिक राष्ट्रियताप्रति नेपाली समाजको उदासीनतासमेत चिन्ताजनक रहेको बताए।
पूर्वअर्थमन्त्री भट्टराईले आफूले सन् १९८६ मा Jawaharlal Nehru University मा प्रस्तुत गरेको विद्यावारिधि शोधग्रन्थमा नेपालको आर्थिक अल्पविकास र परनिर्भरताका कारणहरूको विश्लेषण गरेको स्मरण गरेका छन्। तर त्यसपछिको अधिकांश समय राजनीतिक परिवर्तन र अधिकारको आन्दोलनमै बितेकाले आर्थिक रूपान्तरणमा अपेक्षित ध्यान दिन नसकिएको उनको भनाइ छ।
उनले वर्तमान युवा नेतृत्वलाई लक्षित गर्दै अब नेपालको दीर्घकालीन आर्थिक समस्याको समाधान खोज्ने ऐतिहासिक जिम्मेवारी उनीहरूको काँधमा आएको बताएका छन्। चिया निर्यात संकट र उद्योग दर्तामा आएको गिरावटले औद्योगिक वातावरण कमजोर बन्दै गएको अवस्थामा भट्टराईको यो अभिव्यक्ति अर्थतन्त्रको अवस्थाप्रति गम्भीर चेतावनीका रूपमा हेरिएको छ।
तपाईको प्रतिक्रिया