फिफा विश्वकप–२०२६ मा एसियाली राष्ट्रहरूले प्रभावशाली प्रदर्शन गर्दै विश्व फुटबलमा आफ्नो बढ्दो उपस्थितिको संकेत दिएका छन्। आइतबार भएको खेलमा कतारले फिफा वरीयताको १९औँ स्थानमा रहेको स्विट्जरल्याण्डलाई १–१ को बराबरीमा रोक्दै सबैलाई चकित बनायो। खेलको १७औँ मिनेटमा पेनाल्टीमार्फत अग्रता लिएको स्विट्जरल्याण्डलाई कतारले दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै अंक बाँड्न बाध्य बनायो।
यससँगै एसिया क्षेत्रका हालसम्म खेल खेलेका चारवटै टोली अपराजित रहेका छन्। जापानले बलियो टोली नेदरल्याण्ड्ससँग बराबरी खेलेको छ भने दक्षिण कोरियाले चेक रिपब्लिकलाई २–१ ले पराजित गरेको छ। त्यस्तै अस्ट्रेलियाले टर्कीमाथि सहज जित निकालेको छ।
विश्वकप इतिहासमा एसियाली राष्ट्रहरूले क्रमशः आफ्नो स्तर उकास्दै आएका छन्। सन् २००२ मा दक्षिण कोरिया सेमिफाइनलसम्म पुग्नु हालसम्मको सबैभन्दा ठूलो सफलता मानिन्छ। सन् २०२२ को विश्वकपमा जापानले जर्मनी र स्पेनलाई हराउँदै समूह विजेता बनेको थियो भने साउदी अरेबियाले अर्जेन्टिनालाई स्तब्ध पारेको थियो।
यसपटकको विश्वकपमा पनि एसियाली टोलीहरूले बलिया युरोपेली राष्ट्रहरूसँग प्रतिस्पर्धात्मक खेल प्रदर्शन गर्दै आफूहरू केवल सहभागी मात्र नभई चुनौतीपूर्ण प्रतिस्पर्धीसमेत भएको सन्देश दिएका छन्। विश्व फुटबलमा युरोप र दक्षिण अमेरिकाको वर्चस्वबीच एसियाली राष्ट्रहरूले आफ्नो छुट्टै पहिचान स्थापित गर्ने प्रयासलाई विश्वकप–२०२६ को सुरुवातले थप बल दिएको छ।
तपाईको प्रतिक्रिया