लेखक-सुस्मि कडेल ,
कहिलेकाहीँ लाग्छ, सपना देख्नु पनि साहसको काम रहेछ।
म पनि एउटा सानो सपना बोकेर हिँडेको मान्छे—माइकको अगाडि उभिएर बोल्ने, आफ्नो आवाजले अरूको मन छुने।
तर त्यो सपना सजिलै भेटिएको थिएन।
एक पटक होइन, दुई पटक होइन—आठ पटकसम्म समय मिलाएँ, ढोका ढकढकाएँ।
कहिले अन्तर्वार्ताको आशामा गेटसम्म पुगेर पनि फर्किनुपर्यो,
कहिले भित्र पस्ने आँट भएर पनि, मनभित्रको डरले पाइला पछि हटायो।
हरेक फर्काइसँगै एउटा प्रश्न मनमा घोचिन्थ्यो—
“के म यति कमजोर छु? कि यो संसारले मलाई अझै स्वीकार्न बाँकी छ?”

तर नवौं पटक…
हो, नवौं पटक केही फरक भयो।
जब रेडियोको त्यो सानो कोठामा हेम सुवेदी सरसँग भेट भयो,
त्यो दिन मैले पहिलो पटक महसुस गरेँ—
“सपना त ढिलो भए पनि साँचो हुँदो रहेछ।”
त्यो दिन, माइकको अगाडि बसेर बोलेको हरेक शब्द
मेरो लागि केवल शब्द थिएनन्—
त्यो त आठ पटकको अस्वीकार, आँसु र प्रतीक्षाको उत्तर थियो।
लाग्यो, मैले सानो भए पनि आफ्नो संसार जितेँ।
सोचेको थिएँ—अब त रहर पूरा भयो।
२/३ महिना बोल्छु, अनि यो कथा यत्तिकै टुंगिन्छ।
तर जीवनले कहाँ यति सजिलो स्क्रिप्ट लेख्दो रहेछ र?
दिनहरू बित्दै गए,
र त्यो “रहर” बिस्तारै “पहिचान” बन्दै गयो।
आज झण्डै आधा दशक नजिक पुग्दा,
माइक अब मेरो लागि केवल एउटा उपकरण होइन—
यो त मेरो आवाज, मेरो अस्तित्व, मेरो संघर्षको प्रतीक बनेको छ।
रेडियो सुरु गरेको तीन महिनामै
मनमा अर्को सपना पलायो—टेलिभिजन।
क्यामेराको अगाडि उभिने, अझ ठूलो संसारसँग कुरा गर्ने।
पहिलो प्रयास गरें…
अन्तर्वार्ता दिन पुगेँ, तर केही कुरा मन परेन।
कहिलेकाहीँ ठाउँले होइन, अनुभूतिले निर्णय गराउँछ—
त्यो दिन मैले त्यही महसुस गरें र चुपचाप फर्किएँ।
तर मैले हार मानिनँ।
अर्को ढोका ढकढकाएँ।
फेरि आफ्नो आवाजलाई मौका दिएँ।
र आज…
त्यही अर्को टेलिभिजन मेरो निरन्तर यात्रा बनेको छ।
जहाँ हरेक दिन, हरेक कार्यक्रमसँगै
म आफ्नै सपना बाँचिरहेकी छु।
यो यात्रा कहिल्यै सजिलो थिएन।
यसमा अस्वीकारका आँसु छन्,
प्रतीक्षाका लामा रातहरू छन्,
र विश्वासका स-साना दीपहरू छन्—
जसले अँध्यारोमा पनि मलाई अघि बढ्न सिकायो।
कहिलेकाहीँ एक्लै बसेर सोच्छु—
यदि ती आठ पटकको अस्वीकार नभएको भए,
सायद नवौं पटकको त्यो खुशी यति गहिरो हुने थिएन।
आज, प्रेस स्वतन्त्रता दिवसको दिन,
म आफ्नो यो सानो तर गहिरो यात्रा सम्झिँदै भन्छु—
स्वतन्त्रता केवल बोल्ने अधिकार होइन,
यो त बारम्बार अस्वीकार हुँदा पनि
आफ्नो आवाजलाई मर्न नदिने अडान हो।
स्वतन्त्रता भनेको
गेटबाट फर्किँदा पनि
अर्को ढोकाको कल्पना गर्न सक्ने हिम्मत हो।
मेरो आवाज अझै यात्रामै छ…
सायद अझ धेरै अस्वीकारहरू आउनेछन्,
तर अब म डराउँदिन।
किनकि मैले सिकिसकेको छु—
अस्वीकार अन्त्य होइन,
त्यो त नयाँ सुरुवातको ढोका हो…
तपाईको प्रतिक्रिया