बिहीबार, ११ असार,
सार्वजनिक यातायात क्षेत्र र ट्राफिक व्यवस्थापनबीचको सम्बन्धबारे केही दिनअघि टेलिभिजन कार्यक्रममा व्यक्त गरिएको एक अभिव्यक्तिले अहिले नयाँ बहसको रूप लिएको छ। अखिल नेपाल मजदुर सङ्घका अध्यक्ष दीपक केसी ले बागमती टेलिभिजनबाट प्रसारण हुने ‘द पावर सर्कल’ कार्यक्रममा ट्राफिक प्रहरीसँग हुने व्यवहारबारे दिएको अभिव्यक्ति यतिबेला पुनः चर्चामा आएको छ।
कार्यक्रमकी प्रस्तोता शुष्मी कँडेलले “ट्राफिक प्रहरीसँग तपाईँहरूले कतिको सेटिङ गर्नुहुन्छ ?” भन्ने प्रश्न राखेपछि अध्यक्ष केसीले त्यसको जवाफमा सेटिङ गर्छौं भन्ने भन्दा पनि हामी हात मिलाएर हिँड्छौं, र हात मिलाएर हिँड्न बाध्य छौं। किनकि हात नमिलाउने हो भने जसरी पनि ट्राफिक नियम उल्लङ्घन देखाउने चलन छ। हामी चाहन्थ्यौं कि एक ठाउँमा सवारीका कागजात जाँच भइसकेपछि ‘क्लिन चिट’ दिएर गन्तव्यमा नपुग्दासम्म चालकलाई दुःख–हैरानी नदिइयोस्। तर अहिले पनि मालवाहक ठूला–साना सवारी तथा यात्रुवाहक लामो दूरीका सवारीसाधन सञ्चालन गर्दा ‘हात मिलाएर’ हिँड्नुपर्ने बाध्यता कायमै छ। सरकार नयाँ आयो, तर संस्कार भने पुरानै छ भन्ने आशययुक्त अभिव्यक्ति दिएका थिए। उनले थपेका थिए “हामी ट्राफीक संग मिलाउँछौँ, नत्र हामीलाई धेरै दुःख दिइन्छ, गाडी रोक्ने, अल्झाउने र गन्तव्यसम्म सहज रूपमा पुग्न नदिने समस्या हुन्छ” भन्ने आशय व्यक्त गरेका थिए। उनले उक्त भनाइलाई भ्रष्टाचार वा आर्थिक लेनदेनको रूपमा नभई चालक, सहचालक र ट्राफिक प्रहरीबीचको व्यवहारिक सम्बन्ध तथा कार्यस्थलमा देखिने समस्यासँग जोडेर व्याख्या गरेका थिए।
उक्त अभिव्यक्ति सार्वजनिक भएको केही समयमै नेपाल प्रहरीको ट्राफिक व्यवस्थापन सम्बन्धी नयाँ निर्देशन चर्चामा आएको छ। नयाँ व्यवस्थाअनुसार ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सवारी चालक तथा सहचालकसँग अनावश्यक रूपमा हात मिलाउने वा अत्यधिक घुलमिल हुने गतिविधिबाट टाढा रहनुपर्ने व्यवस्था गरिएको छ। ट्राफिक अनुशासन, व्यावसायिकता र निष्पक्षतालाई थप मजबुत बनाउन यस्तो निर्देशन जारी गरिएको बताइएको छ।
नेपालमा पछिल्ला वर्षहरूमा सार्वजनिक सेवा प्रवाहमा पारदर्शिता, सुशासन र व्यावसायिक आचरणका विषयहरू निरन्तर बहसको केन्द्रमा रहँदै आएका छन्। सरकारी निकाय र सेवाग्राहीबीचको सम्बन्धलाई अझ मर्यादित र नियमसम्मत बनाउन विभिन्न निकायहरूले आचारसंहिता र व्यवहारसम्बन्धी मापदण्डहरू लागू गरिरहेका छन्। ट्राफिक प्रहरी र सार्वजनिक यातायात क्षेत्रबीचको सम्बन्ध पनि यिनै बहसको एउटा महत्वपूर्ण हिस्सा बनेको छ।
यातायात व्यवसायी तथा मजदुरहरूले लामो समयदेखि सडकमा अनावश्यक जाँच, कागजी प्रक्रियामा झन्झट तथा व्यवहारगत समस्याबारे आवाज उठाउँदै आएका छन्। अर्कोतर्फ ट्राफिक प्रहरी भने सडक सुरक्षाको जिम्मेवारी, दुर्घटना न्यूनीकरण तथा नियम कार्यान्वयनलाई प्राथमिकतामा राख्दै आएको छ। यही बीचमा ‘हात मिलाउने’ जस्तो सामान्य देखिने व्यवहारले समेत व्यावसायिक मर्यादा र सार्वजनिक विश्वाससँग सम्बन्धित प्रश्नहरू उठाएको छ।
विश्लेषकहरूका अनुसार कुनै पनि सार्वजनिक निकायप्रति नागरिकको विश्वास कायम राख्न कर्मचारी र सेवाग्राहीबीचको सम्बन्ध पारदर्शी, निष्पक्ष र औपचारिक हुन आवश्यक हुन्छ। यस कारण ट्राफिक प्रहरीले ड्युटीका क्रममा चालक तथा सहचालकसँग हात नमिलाउने सम्बन्धी निर्देशनलाई व्यावसायिक दूरी कायम गर्ने प्रयासका रूपमा हेरिएको छ।
रोचक संयोग के छ भने, टेलिभिजन अन्तर्वार्तामा अध्यक्ष केसीले ट्राफिक प्रहरीसँग ‘हात मिलाउनुपर्ने बाध्यता’ बारे टिप्पणी गरेको केही समय नबित्दै ट्राफिक प्रहरीले नै ड्युटीका क्रममा चालक–सहचालकसँग हात मिलाउन नपाइने नयाँ व्यवस्था लागू गरेको छ। यसले सामाजिक सञ्जालदेखि यातायात क्षेत्रसम्म व्यापक चर्चा पाएको छ।
नेपालमा सुशासन, पारदर्शिता र संस्थागत सुधारका विषयहरू अहिले प्राथमिक बहसका रूपमा अगाडि बढिरहेका बेला ट्राफिक प्रहरी र यातायात क्षेत्रबीचको सम्बन्धलाई अझ व्यावसायिक, मर्यादित र नियमसम्मत बनाउने दिशामा यो कदमलाई महत्वपूर्ण रुपमा हेरिएको छ।
तपाईको प्रतिक्रिया