२०८३ साल असार १६
हाइस्पीड संवाददाता
एआई प्रविधिबाट बाली रोग पहिचान गर्ने ‘एग्रोयुनी’ सार्वजनिक
नेपाली कृषि क्षेत्रमा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग विस्तार गर्ने उद्देश्यसहित Oracle Brain ले ‘AGROUNI (एग्रोयुनी)’ नामक एआई–आधारित वेब एप सार्वजनिक गरेको छ। बालीमा देखिने रोगको छिटो पहिचान गरी किसानलाई आवश्यक जानकारी तथा व्यवस्थापनसम्बन्धी सुझाव उपलब्ध गराउने उद्देश्यले उक्त प्लेटफर्म विकास गरिएको हो।
Oracle Brain का सतीश झा र आशिष झा नेतृत्वको प्राविधिक टोलीले विकास गरेको एग्रोयुनीमार्फत प्रयोगकर्ताले बालीको प्रभावित भागको तस्बिर अपलोड गरेपछि कृत्रिम बुद्धिमत्ताले रोगको सम्भावित पहिचान गरी त्यसको कारण, नियन्त्रणका उपाय तथा व्यवस्थापनसम्बन्धी प्रारम्भिक जानकारी उपलब्ध गराउँछ। यसले समयमै रोग पहिचान गर्न नसक्दा हुने उत्पादन क्षति न्यूनीकरणमा सहयोग पुग्ने विश्वास गरिएको छ।
नेपालमा कृषि उत्पादनको ठूलो हिस्सा अझै परम्परागत ज्ञान र सीमित प्राविधिक सेवामा निर्भर रहेकाले ग्रामीण क्षेत्रमा रहेका किसानलाई लक्षित गरी यो प्रणाली विकास गरिएको विकासकर्ताको भनाइ छ। कृषि विज्ञको पहुँच सहज नभएका स्थानका किसानले पनि डिजिटल माध्यमबाट प्रारम्भिक कृषि परामर्श प्राप्त गर्न सक्ने गरी प्लेटफर्म तयार गरिएको उनीहरूले बताएका छन्।
वेब एप मोबाइल फोन, ट्याबलेट तथा कम्प्युटरमार्फत सहज रूपमा प्रयोग गर्न सकिनेछ। किसानका अतिरिक्त कृषि विद्यार्थी, अनुसन्धानकर्ता तथा कृषि प्राविधिकले समेत यस प्लेटफर्मबाट लाभ लिन सक्ने अपेक्षा गरिएको छ।
कृषि क्षेत्रमा डिजिटल प्रविधिको प्रयोग बढ्दै गएको सन्दर्भमा स्वदेशमै विकसित एआई–आधारित यस प्रणालीले रोगको प्रारम्भिक पहिचान, समयमै व्यवस्थापन तथा उत्पादन वृद्धि गर्न सहयोग पुग्ने विश्वास विकासकर्ताले व्यक्त गरेका छन्।
एग्रोयुनी सेवा www.agrouni.oraclebrain.com.np मार्फत सञ्चालनमा आएको छ।
।
तपाईको प्रतिक्रिया